नेपाली काँग्रेस इटहरीका सम्भावित सभापतिमा कोविदजङ्ग कार्की को चर्चा

इटहरी -:  लामो समयको रस्साकस्सीपछि अन्तत नेपाली काँग्रेसको १४ औं अधिवेशन पार्टीको संघीय विधान अनुसार फाल्गुण ७ देखि १० सम्म काठमाण्डौंमा सम्पन्न हुने भएको छ । नेपाली काँग्रेसले तय गरेको संसोधित कार्यतालिका बमोजिम असार मसान्तमा समायोजन सकेर फाल्गुण ७ गते देखि १० गते सम्म केन्द्रीय अधिवेशन काठमाण्डौंमा सम्पन्न हुनेछ ।

संसोधित नयाँ कार्यतालिका बमोजिम पालिकाहरुको अधिवेशन आगामी पुष ८ गते सम्पन्न भइसक्नु पर्नेछ । हाल राजिव कोइरालाको जुझारु र सुझबुझपुर्ण नेतृत्वमा नेपालकै उर्बर र बलियो संगठन मानिएको सुनसरी काँग्रेसमा पनि नेतृृत्वको विषयलाई लिएर रस्साकस्सी शुरु भएको छ । यसै सन्दर्भमा सुनसरीको महत्वपुर्ण पालिकाको रुपमा रहेको इटहरी उपमहानगरपालिकाको भावी नेतृत्वका लागि समेत दौडधुप शुरु भएको छ ।गत निर्वाचनमा स्थानीय तह,प्रदेश तह र प्रतिनिधिसभामा समेत उत्साहजनक चुनावी नतिजा हाँसिल गरेको सुनसरीको इटहरी उपमहानगरपालिका भित्रको काँग्रेस कस्तो हुनुपर्दछ र भावी नेतृत्व कसले गर्नुपर्छ भन्ने विषयमा चिया पसल देखि लिएर आम काँग्रेस कार्यकर्ताहरुमाझ बहस शुरु भएको छ ।

तत्कालिन नेकपा एमाले र हालको नेकपाको गढ मानिने इटहरीमा भएको पछिल्लो निर्वाचनमा नेपाली काँगेसले नेकपा एमाले र नेकपालाई कडा टक्कर दिएपछि अहिले इटहरी काँग्रेसको नेतृत्व हत्याउन इटहरीका नेता कार्यकर्ता भेटघाट तथा आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन ।नेपाली काँग्रेसलाइ महाधिवेशनको चटारोले छोपेकै सन्दर्भमा हामीले इटहरीकों संभावित भावी नेतृत्वको बारेमा आम नेता कार्यकर्ताको पुर्वानुमानलाई समेत समावेश गरी नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको १४ औं महाधिवेशन मार्फत नेतृत्वमा स्थापित हुन सक्ने संभावना भएका नेताको विषयमा चर्चा गरेका छौं ।

 विकास केसी, पूर्व उपाध्यक्ष, नेपाल विद्यार्थी संघ

आसन्न महाधिवेशनमा नेपाली कांग्रेसको इटहरी नगर सभापतिको शसक्त उम्मेद्वार हुन विकास केसी । नेपाली कांग्रेसको राजनितिमा केसीको इतिहास पनि लामो छ । नेपाली विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेका विकास केसी इटहरीमा सभापति शेरबहादुर देउवाको समुहबाट नगर सभापतिको एकल उम्मेद्वार हुन भन्दा फरक नपर्ला ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आफ्नो समुहबाट नगर सभापतिको उम्मेदवार बनी वर्तमान सभापति हेमकर्ण पौडेल सँग पराजित भएका केसीले त्यसपछि नेविसंघको केन्द्रीय अधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा जित हाँसिल गर्दै प्रदेश नम्बर १ को संयोजकको समेत जिम्मेवारी सम्हालिसकेका छन् । नेपाली काँग्रेसका हरेक गतिविधिमा सहभागी केसी आफ्नो समुहका नेता तथा कार्यकर्ता व्यवस्थापनमा माहिर नेताको रुपमा परिचित छन् ।

नेपाल विद्यार्थी संघको आगामी अधिवेशन मार्फत ३२ बर्षे उमेरहद लागु हुने भए पछि आफ्नो नेविसंघको यात्रा टुङ्ग्याएका केसी कांग्रेसको आगामी अधिवेशन मार्फत जसरी भए पनि इटहरीको सभापति निर्वाचित भई मातृ पार्टीको प्रत्यक्ष राजनितिमा फस्र्ट म्यानको पद हत्याउने दाउमा छन् । गत अधिवेशनमा समुहका लागि लडेका केसी यो अधिवेशनमा आफ्नो राजनितिक भविष्यलाई नयाँ उचाईमा पु¥याउन पनि सभापति निर्वाचित हुनै पर्ने दबाबमा छन् ।आसन्न अधिवेशनकै तयारीमा रहेका केसी इटहरीका प्राय सबै वडामा पुगी नेता तथा कार्यकर्ताहरु आफ्नो पक्षमा पार्ने प्रयासमा अहोरात्र लागिपरेका छन् । विगतको तुलनामा केसीको स्थिति आगामी अधिवेशनमा सुधार हुने र जीत हाँसिल गर्ने संभावना प्रबल रहेको उनी निकट नेता कार्यकर्ताहरुको बुझाई छ ।

शिवराज दहाल,उप–सभापति, नेपाली कांग्रेस इटहरी

नेपाली कांग्रेस इटहरीको राजनीतिमा मनोनित नगर सदस्यबाट डेब्यु गरेका दहाल नेपाली कांग्रेस इटहरी नगर समितिमा प्रभावशाली नेतामा गनिन्छन् । विगतमा भएका स्थानीय,प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा घरदैलो अभियान देखि चुनावी प्रचार प्रसार एंव चुनावी कार्यक्रममा महत्वपुर्ण भुमिका निर्वाह गरेका दहाल नगरको संस्थापन समुहबाट सभापति पदको बलिया प्रत्यासी हुन ।

लामो समय इटहरी कांग्रेसको कार्यवाहक सभापतिको समेत जिम्मेवारी सम्हालिसकेका दहाल शैक्षिक योग्यताका हिसाबले समेत अब्बल गुण भएका प्रतिस्पर्धी हुन । नेपाली कांग्रेसमा मात्र नभएर इटहरी जेसिज लगायत विभिन्न सामाजिक संघ संस्थामा समेत प्रभावशाली उपस्थिति भएका दहाल आसन्न १४ औं महाधिवेशन मार्फत नगरको नेतृत्व हत्याउने दाउमा छन् । कम बोल्ने तर रणनितिक स्वभावका दहालले नेपाली कांग्रेस इटहरीको नगर समितिमा सह–सचिव र दुई कार्यकाल उप–सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेल निकट मानिने दहालको सम्पर्क तथा सम्बन्ध पार्टीका तल्लो स्तरका कार्यकर्ताहरु रहेकाले आफु सभापति निर्वाचित हुनेमा उनी विश्वस्त रहेको उनी निकट नेता कार्यकर्ता बताउछन् । आफुले इटहरीका हरेक वडामा कांग्रेस कार्यकर्ताको मात्र नभएर आम नागरिकको काम गरेकाले नयाँ पुस्तालाई नेपाली कांग्रेसमा आर्कषित गर्न आफ्नो नेतृत्व अपरिहार्य रहेको दहालको बुझाई रहेको उनी निकटस्थहरुले बताउने गरेका छन् । महाधिवेशन हुन करिब ६ महिना बाँकी रहदा आफ्नो पक्षमा माहोल सृजना गर्न दहाल दौडधुपमा लागेको बताईन्छ ।

 कोविदजङ्ग कार्की, सह–सभापति, नेपाली कांग्रेस इटहरी

नेपाली कांग्रेस इटहरीको आसन्न महाधिवेशन मार्फत नगर सभापतिका अर्का बलिया प्रत्यासी हुन कोविदजङ्ग कार्की । कांग्रेस उप–सभापति तथा प्रभावशाली नेता विजयकुमार गच्छदारको तत्कालिन मधेशी जनाधिकार फोरमको इटहरी नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेका कार्कीलाई फस्र्ट म्यानको भुमिका निर्वाह गरिसकेको अनुभव नेपाली कांग्रेसको भावी सभापतिको दाबेदारीका लागि समेत उपयोगी हुन सक्दछ ।

विभिन्न सामाजिक संघ संस्था मात्र नभएर जिल्ला फुटबल संघमा समेत प्रतिनिधित्व गरिसकेका कार्की सरल, मिजासिलो र कुशल संगठक हुन । राष्ट्रिय राजनितिमा समेत प्रभावशाली उपस्थिति भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारका विश्वास पात्र कार्की फोरम लोकतान्त्रिक नेपाली कांग्रेक सँग एकीकरण भएपश्चात नेपाली कांग्रेसको महासमिति सदस्य मनोनित भएकाले आगामी अधिवेशनमा उनी पनि इटहरीको एक शक्तिको रुपमा उदाएका छन् ।

जुझारु नेतृत्व क्षमता भएका कार्की संगठन निर्माण गर्ने अनुभव भएको र नेपाली कांग्रेसको सह–सभापति भईसकेकाले स्वभाविक रुपमा आफु नगर सभापतिको दाबेदार भएको उनी निकटस्थ नेता कार्यकर्ताहरुलाई बताउन थालेका छन् । आफु नेपाली कांग्रेस इटहरीमा सबै पक्षलाई समेटेर पार्टीलाई एकढिक्का बनाई लैजाने क्षमता भएकाले भावि नगर सभापतिमा आफ्नो विकल्प नभएको कार्कीको बुझाई रहेको उनी निकटस्थ नेता कार्यकर्ताको दाबी छ ।

प्रकाशित मिति July 8, 2020
Loading...