तत्काल नक्सा प्रकाशन गरौँ, सीमामा काँडेतार लगाऔं – वरिष्ठ नेता नेपाल सहमत हुनेले एक सेयर गरौ ।

काठमाडौं -: पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको बताएका छन् ।

उनले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्न समेत सुझाव दिएका छन् ।सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भने,सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो ।

उनले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गरे । नेता नेपालले आवश्यक परे सिमानामा काडेतार लगाउन समेत जोड दिएका छन् ।‘भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नु भएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के के सामग्री चाहिन्छ त्यो पनि ब्यवस्था गर्नुपर्यो’ नेता नेपालले भने ।

नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनका त्रासका बीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको बताए ।
भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकोले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने उनको जोड छ ।

उनले सानो छिमेकी देशप्रति भारतको दृष्टिकोण नै ठीक छैन कि भन्ने देखिएको भन्दै भारतले गरेको सीमा अतिक्रमणले नेपाल भारत बीच भएको सम्झौता उल्लंघन भएको बताए ।उनले भने, ‘भारतले नेपाली भूमिमा सडक बनाउने कामले नेपाली स्वाधिनतामाथि प्रहार भएको छ । तथ्यको आधारमा विवादबारे बसेर छलफल गर्न सकिन्छ । विवादित ठाउँमा भारतले किन विवादित काम गर्नुपर्यो । नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म पर्दछ । त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् । हामीसँग थुप्रै नक्सा र दस्तावेजहरु छन् । यस्ता तथ्य प्रमाणले नेपालको सिमाना कालीनदी र त्यसको उद्गम लिम्पियाधुरा हो । नेपालले त्यो भूमिमा दावा छोडेको छैन । भारतको कदमले मित्रराष्ट्र बीच अविश्वास बढाएको छ ।उनले कोरोना भाइरसको कारण देखाएर भारतसँग कुरा गर्न कुरा गर्न छोड्नु नहुनेमा जोड दिए ।

 

प्रकाशित मिति May 11, 2020
Loading...