कोरोना अस्पतालको सिसिटिभी फुटेज; कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका (भिडियो सहित)

चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ ।

खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूले स्टाण्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ ।

सामान पोको पार्नेहरू बत्ती निभाएर स्टोर कोठाबाट बाहिरिन्छन् र केही समयपछि मोबाइलको लाइटको साहारामा अँध्यारो कोठामा पसेर करिब आधा घण्टा अगाडि तयार बनाएर राखेको पोको उठाउँछन् । अरू केही सामानहरू खोजेको जस्तो पनि देखिन्छ ।

वीरगञ्जका बिरामी सन्तोष यादवको मृत्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरिएको थियो । भरतपुर अस्पताल मातहत चलाउने सम्झौता नै भएको थियो गत चैत २१ गते । भरतपुर अस्पतालले वैशाख १ गते दिउँसो सामानहरूको विवरण बुझेको थियो । खनाल, बराल र तिवारीले चैत ३० गते राति ९.३० बजेसम्म बसेर सामानहरू उठाएका थिए ।

उनीहरूले केही सामान आ-आफ्ना घर लगेका र केही नारायणगढको एक सर्जिकल पसललाई बेचेको स्रोत बताउँछ । आरोपीहरूले भने भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् । महानगरका लेखापाल खनालले आफूहरूले सामान चोरी नगरेको दाबी गरे । राति मोबाइल बालेर सामान उठाउनुको कारण सोध्दा उनले भने,दिउँसो नभ्याएर राति लैजानु परेको हो ।

भरतपुर अस्पतालको स्टोर शाखा प्रमुख केशव सापकोटा कोरोना अस्पतालबाट केही थान मास्क र पीपीई मात्र ल्याएको बताए ।हामीले वैशाख १ गते स्टोर जिम्मा लिएपछि एक जना मान्छे पनि खटाएका छौँ’ उनले भने, त्यसभन्दा अगाडिको कुरा हामी जान्दैनौँ ।

भिडियोमा लेखापाल खनालले इलेक्टि्रसियन सन्तोष कुमारलाई हात हालेको पनि देखिन्छ । कुमार जाइलागेपछि खनाललाई जोगाउन बराल बीचमा आएको देखिन्छ । पेस्की रकमको बिल नदिएपछि कुटपिट गरेको लेखापाल खनालले स्वीकार गरे ।

 

प्रकाशित मिति April 28, 2020
Loading...