आज आमाको मुख हेर्ने  दिन,आमालाइ माया गर्नेले पढ्नु होला र एक सेयर गर्नु होला  !

प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकीआमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपिगरियसी’अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदा दान गरिन्छ। वैशाख कृष्णऔँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए।मातातीर्थ मेला स्थगितआमाको मुख हेर्ने औँसीसमेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका-६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको छ।

आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे। यस वर्ष स्थानीयवासीलाई पनि माता तीर्थमा नजान सूचित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए। नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगतरूपमा १०० रुपैयाँ जरिबाना गर्ने जनाइएको छ।

माता तीर्थमा संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ। घरघरमै बसेर जीवित आमालाई खुसी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ।माता तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझाआमा’को मूर्ति पनि स्थापना गरिएको छ। यो मूर्तिले पनि माता तीर्थको महत्व बढाएको छ।

यस्ता छ मातातीर्थ उत्पतिको कथा – माता तीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो। एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो। उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो। अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए।

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकीआमा पनि थिइनन्। त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो। दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। सो कुरा चालपाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिजखाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम माता तीर्थ राखे।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्य पदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो। यसैले आजको औँसीलाई मातातीर्थ औँसीसमेत भनिन्छ।आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ- ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर।

‘कुपुत्रो जायते क्वचिदपिकुमाता न भवति’अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रूपमा माया गर्छिन्। आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमा समेत हुन्छिन्। बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन्।लकडाउनका कारण छोराछोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुसी राख्न सकिने शास्त्रीय मान्यता रहेको छ।

प्रकाशित मिति April 23, 2020
Loading...