नेपालमा कोरोना संक्रमणको तेस्रो चरण शुरु भएको हो धर्य गरेर घरमै बसीदिनु होस् !

काठमाडौँ -:  उदयपुरको भुल्के क्षेत्रमा बसोबास गर्ने ११ जनामा मंगलबार कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोनाको तेस्रो चरण शुरु भएको छ।यो घटनाले कोरोना भाइरस समुदाय स्तरमा बिस्तारको अवस्थामा पुगिसकेको देखाएको छ। यसरी समुदायमा भाइरसको संक्रमण फैलिनुलाई नै विश्व स्वास्थ्य संगठनले यो भाइरस संक्रमणको तेस्रो चरण भनेर विश्लेषण गरेको छ।

नेपालमा कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेसँगै यसको जोखिम झन् खतरानाक रुपमा देखा पर्न थालेको छ। शुरुमा उदयपुरको त्रियुगा नगरपालिकामा पर्ने भुल्केको मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भएको थियो। त्यसपछि विराटनगरका थप एक जनामा शनिबार संक्रमण भेटियो।

त्यसपछि त्यहाँको सम्भावित खतरालाई हेरेर मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा मंगलबार ८ जनाको रिपोर्ट पोजिटिभ आएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि गर्दै संक्रमितको कुल संख्या ४२ पुगेको जनाएको छ। सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एक जनाको रिपोर्ट आउन बाँकी नै थियो।

यस्तोमा पोजिटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो। साथै, मंगलबार नै भुल्केकै तीन जनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २५२ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परिक्षणमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ।

यसमा अरु परीक्षणको नतिजा आउन बाँकी नै छ। अहिलेसम्मको नतिजा हेर्दा मात्रै पनि उदयपुरमा संक्रमितको संख्या २४ पुगिसकेको छ। मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको हो। उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका हुन्। जनस्वास्थ्यविद्हरुका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ। त्यसैगरी समुदायमै फैलिनु तेस्रो चरण हो। उदयपुरको घटना हेर्दा यो तेस्रो चरणको शुरुवात हो। यसरी कोरोना तेस्रो चरणमा जान लागेको अवस्थामा लकडाउन र भौतिक दूरीलाई कडाईपूर्वक पालना गर्दै सम्भावित संक्रमितको खोजी र कन्ट्याक्ट टे्रसिंगलाई तीव्रता दिनुपर्दछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोभिड–१९ भाइरस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै संक्रमण दोस्रो चरण, ‘लोकल ट्रान्समिसन’मा प्रवेश गरेको जानकारी गराएको थियो। नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ।

चैत २२ गते संक्रमित भएको पुष्टि भएकी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त थिइन्। त्यससँगै पहिलोपटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको थियो। नेपालमा देखिएका संक्रमितमध्ये पहिलोपटक विदेशबाट आएका संक्रमित व्यक्तिबाट उनको परिवारमा अर्को सदस्यमा सरेपछि नेपालमा कोरोनाभाइरसको संक्रमणलाई दोस्रो चरण अथवा ‘लोकल ट्रान्समिसन’ भनिएको थियो। दोस्रो चरण देखिएसँगै यसअघि विज्ञले नेपालमा कोरोना भाइरसको तेस्रो चरण पनि आउन सक्ने भनेर आंकलन गरेका थिए। उदयपुरको भुल्के क्षेत्रमा समुदायस्तरमै देखिएको यो संक्रमणले तेस्रो चरणलाई पुष्टि गरेको छ। र, नेपालमा कोरोना संक्रमणको जोखिमलाई झन् बढाएको छ।

प्रकाशित मिति April 22, 2020
Loading...