सास हुँदा हो अन्नपानी, लासलाई त के चाहिन्छ र सरकार ? जनताको गुनासो

काठमाडौं  मुलुक लकडाउनको २५औं दिनमा छ । शुक्रवार बिहानै कावासोतीका पत्रकार रमेशचन्द्र बस्ताकोटी दाजुले रातिका केही तस्वीर फेसबुकमा राख्दै लेख्नुभएको थियो, ‘६२ जना मजदुरलाई त्यहाँको वडाध्यक्ष र अरु सहयोगीको सहारामा गन्तव्यतर्फ पठाईयो ।’ ती मजदुरको गन्तव्य मुलुककै एउटा कुना कर्णाली र सूदुरपश्चिम थियो । दुधेबालक बोकेका आमाहरुसहितको मजदुरका पैताला देशकै एउटा कुनाबाट अर्को कुना जान सडक नापिरहेका छन् ।

वैशाखको तराईको गर्मी, टन्टलापुर घाम, घरिघरिको आकाशको गर्जन र पानी सबै सबै खपेर सडक नापिरहेका मजदुरलाई नाथे कोरोनाको क्यै डर छैन छ, छ त केबल भोका जहान परिवार, पेट र घामपानी छेक्ने ओतको ।त्यो तातो सडकले पैताला के पोलेको होला र जति दुखीजनहरुको मन पोलेको छ । कामकै लागि बास छोडेर झिटिगुन्टा बोकेर सस्तो श्रम बेच्न कहाँ हो कहाँ पुगेका नागरिकलाई सरकार, दलका नेताहरुले किन चिन्दा हुन् ? उनीहरुलाई चिन्ने बेला अहिले कहाँ हो र ? अझै छ नि चुनाव आउन थुप्रै समय । त्यतिबेला चिन्नेमात्र होइन । बुँइ बोक्नैपर्छ ।

अहिले त भोट चाहिएको छैन् नोट खर्च गरेर उनीहरुलाई कहाँ ओत दिन सकिन्छ र ? सरकार श्रमिकको विचल्ली नहेर्ने हो भने यो कोरोनापछि चुनाव घोषणा गर त तिनलाई बोक्न कुद्नेहरुको जुलुस निस्कन्छ । सरकारलाई टन्टै साफ ।रातदिन मालिक (सरकार)का बडे-बडे भवन बनाउँदा बनाउँदै खिइएका हात, चिल्ला कार, पजेरा कुद्न राजधानीका सडक चिल्लाउदाँ चिल्लाउँदै फाटिसकेका पैतलासँगै रगत र पसिना बगाएर पहरा फोरेर कमाएर दुईपैसाको जोहो गर्नेहरु कोरोना कहरले ठप्प भए । रातदिन उनीहरुका लागि बगाएका पसिनाको मूल्य यो कहरमा कहाँ हुन्थ्यो र ? काम गरेको दिन नुनपानी पाइने, नगरेको दिन दाम्रिएको पेटसँगै सुत्नुपर्ने मजदुरलाई सरकारले लकडाउन भनिदियो ।

लकडाउनमा हुनेखानेलाई घरभित्र बस्नु भन्ने सरकारको उर्दीले असर गरेन होला तर हुँदाखानेको मुखमा माडपानी रोकियो । घर छोडेर श्रमकै लागि हानिएकाहरुको श्रम रोकियो, सँगै रोकियो दानापानी पनि । शहरमा सबैलाई आफ्नै ध्याउन्नले छोपेको छ । बल्ल-बल्ल कटेरोमा डेराको बास बसेकालाई नुन र पानी पनि दिने कोही भेटिएनन् ।सरकारले राहतको नाम उच्चारण गर्‍यो मन्त्रिपरिषद् बैठकमा । टाँठाबाठाका हातखुट्टा कान पनि टाँठा भए । राहत दिने सरकारी मान्छेहरु हुन् वा सरकारका मान्छेहरु हुन् उनीहरुले आह्वान गरे समस्या परे भन्नु सरकारले सबै दिन्छ । मजदुरलाई पर्‍यो फसाद अन्न त एउटा गेडो नि छैन् भन्ने कसलाई ? ठेकेदार साहुलाई भन्यो, मसँग छैन् सरकारले दिन्छ, सरकारलाई भन्नु, भन्छ ।

सरकार आफ्नो ठाउँमा आउँदैन । आएकाहरुले दिँदैनन् । विरानो शहरमा वडावासीको सूची तयार गरे । नेताहरुले आफ्ना कार्यकर्ताको सूची बनाए । बोराका बोरा चामल र नुन बोक्न जानेहरुले हातको औठीँ र घाँटीको सिक्री झिक्नसमेत भ्याएनन् तर भोकै रहेका सूदुरपूर्वका माइला दाइ सूदुरपश्चिमका साइला इ न त त्यहाँका वडावासी थिए ।

न त नेताका पिछलग्गु । एक दिन होइन, दुईदिन होइन पानी पनि किनेर खानुपर्ने काठमाडौंमा भोकभोकै सातादिन बितेपछि हिँडेर घरतिरको सडक नापेका हुन् उनीहरुले । ए, भान्सामा चामलको बोरा थन्काएर अर्को बोरा लिन लाम लाग्नेहरु अलिकति सोचीदेउ, मरेपछि बेरिने कात्रोमा गोजी हुँदैन ।सरकारले बरु सडकमा निस्कीयौ भनेर उनैलाई लाठी बजाउन भ्यायो । गस्ती हिँडेको प्रहरीको भ्यानले साइरन बजाएर कुद्यो तर सयौँ-सयौं किलोमिटर नापिरहेका मजदुरलाई कि त बसेकै ठाउँमा दानापानी दिन कि त घर पठाउन अहँ कसैको चित्तले भेटेन यो कुरा ।

उसो त घुम्ने कुर्चीमाथी बसेपछि मान्छेले केही देख्दैन कि के हो ? यीनै मजदुरका नाममा राजनीति गरेको भुसुक्कै भुल्दारान । धन्य हो, भोकभोकै झिटिगुन्टा बोकेर कुदेको ४/५ दिनमा कसैको दया पलाउँछ र बीचबाटोमा कसैले रोकेर चियाभुजा र पानी दिन्छन् । जनप्रतिनिधिहरु स्थानीय सरकार बनेर होइन् व्यक्तिगत रुपमै सयौँ किलोमिटर नापेका पाइलाहरुलाई ट्रक खोजेर पठाउँछन् र केही किलोमिटरको राहत दिन्छन् ।

आधा घण्टामा हेलिकप्टर चढेर बैतडी पुग्ने कमरेडहरुले आज सडक नाप्ने मजदुरको यात्रा कति लामो हो कल्पना पनि गर्ने हुत्ति देखाएनन् । हिजो उनै मजदुरलाई लामबद्ध गराएर युद्ध लडेका कमरेडहरुका आँगनमा पाकिरहेको चिकन र मटनको स्वादले कहाँ ती मजदुरका पसिनाका गन्ध रुचाउँथ्यो र ? फेसबुकमा कमरेडले मासु पकाएको तस्वीर भाइरल छ ।

कमरेडका लागि हिजो दिलोज्यान र भोट दिएका मजदुरको पैताला किन भाइरल हुन्थ्यो । हुन त यो देशमा मजदुरकै नाममा पार्टी छन् । संगठन कति छन् कति नाम उनीहरुको भजाएर आफ्नै बाजा बजाउनेहरुले किन देख्थे आशुँ र रगत ओकल्ने पीडाहरु । उनी कान सुन्दैनन् आखाँ देख्दैनन् देखाउने र सुनाउने पत्रकार ओठमुख सुकाउँदै उनीहरुका पाइला पछ्याउँछ । बदलामा सरकार भन्छ, मिडियाले भ्रम फैलायो ।

गर्न सक्नेहरुले पो कानमा ठेकी ठोसे, आँखामा पट्टी बाधेँ र मुख फर्काए तरपनि धन्य हो, अझै पनि मानवताको जिजीविषा कतै त छ । र त काभ्रेमा युवाहरुले जोगाड गरेका जुत्ता कपडा लामो दुरी हिँड्नेहरुलाई सहयोग दिन्छन् । सातदिनका भोकाहरुलाई भुजा र पानी दिन्छन् । धन्य हो, पूर्वको धरानमा सडकछापहरुलाई राख्न सामुदायिक भवनका ढोका खुलेका छन् । धन्न कहीँ कतैका मेयर, वडाध्यक्षले कम्तीमा जिल्ला पार गराउँछन् । नारायणी पुल वारीपारी उद्योगी व्यवसायी, समाजसेवीहरु भेला हुन्छन् हिँड्दै जानेहरुलाई केही खाएर जानुहोस् भन्छन् । धन्न विभिन्न ठाउँमा टोल सुधार समिति र क्लबहरु छन् र भात पकाएर खुवाउँछन् ।

रुकुमबाट जनार्दनहरु सडकमा अलपत्र आफ्ना नागरिकलाई सम्झेर फोन गर्छन् । लिन ट्रक पठाउँछन् । अस्पताल बनाउन आफै गिट्टी बालुवा समाउँछन् । र, धन्न सरकारी पार्टीमा रामकुमारी झाँक्रीहरु छन् कम्तिमा सरकारलाई झक्झकाउँछन् । सरकार ! विरोधी र प्रतिपक्षले भनेको केही सुन्नुपर्दैन् । तर कम्तिमा आफ्नै पार्टीका रामकुमारी झाँक्रीहरुलाई सुन ।

कम्तिमा आफ्नै पार्टीका जनार्दन शर्माहरुबाट केही सिक । हरेक संसद र मन्त्रीहरुले एक एक स्थानमा त्यस्तै नमुना काम थाले जनतामा राहतको आसा भरोषा त पलाउँदथ्यो । सानोमा आमाले अह्राएको कुरा नसुन्दा मलाई तेरा कान झिरले घोच्ने भन्नुहुन्थ्यो । सरकार, म तिम्रो कान के ले घोचौं ? कहिले सुन्ने हो यो रोदन ? भोलि चुनावमा भोट त यिनै जनताको चाहिने होला ? विदेशिएका पीआरधारीले तिम्रो धोती जोगाइ दिँदैनन् ।

कोरोना लागेर मरे ५० लाख दिने घोषणालाई रद्दिको टोकरीमा मिल्काइदेउ । तर विन्ति छ, कोरोना लाग्नुअघि भोकमरीले जनता नमार । यो लडाइँको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीको उत्साह र मनोबललाई नमार । सरकार जिउँदै हुँदा हो अन्नपानी चाहिने मरेपछि लासले केही माग्दैन । गोजीमा ५ रुपैयाँ नभएर खालीपेट कुदेकाहरुलाई तिम्रो ५० लाख कागलाई बेलभन्दा पनि बढी हो ।

सरकार छिमेकी देशमा मजदुरीमा गएका आफ्ना नागरिकलाई खोरमा बाख्रा हुलेजस्तो व्यवहार नगर । कम्तिमा सुरक्षित रुपमा देश फर्काउन बाँकी रहेको बजेट खर्च गर । स्वास्थ्य सुरक्षा अपनाउँ र तिनलाई घर ल्याउँ सीमाबाट अत्तालिएर घर छिर्न खोजेकालाई काँडेतार नलगाउँ । विनियोजित बजेट ठूलाठालूकै मुखमा पुगिरहेछ सरकार ! हाँडीघोप्टे भुँडी भएकाहरुलाई मसिना चामल ओर्सानै फुर्सद छैन् । भोकानाङ्गाकहाँ त कुहेको चामल पुगेको सुन्यौ कि सुनेनौ कुन्नी ? यस्तो लाजमर्दो त हुन दिनुभएन नी ।

त्यसै होइन नी फेसबुकमा, उसो त चीनमा रहेका नागरिक ल्याउन पो हेलिकप्टर चार्टर हुन्छ । भारतमा रहेका मजदुरलाई काँडेतार लगाइन्छ । भाटेकारबाही गरिन्छ भन्दै नागरिकले रिस पोखेको ।हुन त, आलेखभरी सरकारलाई मात्र गाली गरेको भन्ने आरोप लाग्ला सरकारले नगरेको होइन, आपतमा रासनपानी दिएकै छ, घरबहाल छुट भनेकै छ । करछुट भनेकै छ । विलम्वशुल्क छुट भनेकै छ । आपतकालिन सेवा दिएकै छ । तर निमुखासम्म अन्नपानी पुगेन । गुनासो यत्ती हो । सरकारले मात्रै गरेन भन्नु पूर्वाग्रही होला । जसले गर्छ, उसैको कमजोरी थाहा हुने हो । उसैबाट बढी आशा हुने हो ।

सरकारवेगरका दल त मैले अहिले देखेकै छैन् । कता सुतिरहेका छन् खै कुन्नी ? धन्ने प्रभु, विश्वप्रकाशहरु फेसबुक लाइभमा छन्, फेसबुकमा गगन थापाहरुले मलाई जनप्रतिनिधि भन्न लाज लाग्यो भनेका छन् ।थापाजी, जनार्दनहरुलाई त जनप्रतिनिधि भन्न कुनै लाज छैन त । चुनावमा खर्च गर्न तपाइलाइ सरकारले पैसा दिँदैन त । यतिबेला मजदुरका बारेमा गर्न सरकारले आव्हान गर्नुपर्ने ? सरकारले पैसा छुट्याइदिनुपर्ने ? धन्न कोही जनप्रतिनिधिले चामलका बोरा बोकेर जनताका घरदैलोमै गएका छन् र यहाँहरुका लाज छोपिदिएका छन् । यो यतिबेलाको सत्य कथा र यर्थाथ व्यथा हो जतिबेला देशैभरका साना-ठूला सिंहदरबारका सत्तामा बस्नेहरु हिजो कुनै दिन जीवन शर्माको गीत बजाएर नाँचिरहेका थिए ।

प्रकाशित मिति April 18, 2020
Loading...