कोरोनाको संक्रमण भएका भारतीय नेपाल आउन थाले पछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा पहरा

बिराटनगर, ३ बैशाख -: सीमावर्ती भारतीय राज्यहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालतर्फको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले कडाइ थालेको छ ।खुला सीमानाका कारण भारतबाट मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्ने सम्भावना देखिएको भन्दै आफ्नो सबै जनशक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको सशस्त्र प्रहरी बलको प्रदेश १ बाहिनीले जनाएको छ ।

भारतको विहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीलाई केन्द्रित गरिएको प्रदेश १ बाहिनीका प्रहरी नायव महानिरीक्षक नगेन्द्र थापाले जानकारी दिए ।सीमा क्षेत्रमा १ किलोमिटर वर राखिएका सशस्त्र प्रहरी बलको सबै सुरक्षा पोष्टहरुलाई दशगजा क्षेत्रमा व्यवस्थापन गरिएको र थप नयाँ सुरक्षा पोष्टहरु खडा गरि सात जनाको दरले ड्युटीको व्यवस्था मिलाइएको हो ।सशस्त्र प्रहरीको जवानको आधारभूत तालिममा रहेका प्रशिक्षार्थी, प्रधान कार्यालय र अन्य प्रदेशबाट समेत जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयले जनाएको छ ।

भारतसँग झापा, मोरङ र सुनसरीको दुई सय ७० किलोमिटर र इलामको ५२ किलोमिटिर सीमा क्षेत्र रहेको छ । यहाँ एक सय ५१ वटा पोष्ट तयार गरी तीन हजार दुई सय संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको बाहिनीले जनाएको छ ।झापाको सीमा क्षेत्रमा ५८, सुनसरीमा ५१ मोरङमा ३५ र इलाममा एउटा नयाँ पोस्ट थपिएको छ । यसअघि इलाममा एक र अन्य तीन जिल्लामा गरी जम्मा २४ वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट रहेको थियो ।सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ । त्यस्तै आकस्मिक चेकजाँच र इन्टिलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको डीआईजी थापाले बताएका छन् ।

प्रकाशित मिति April 15, 2020
Loading...