प्रधानमन्त्रीलाई रमेश खरेलको खुल्लापत्र : तपाईं कहिलेसम्म निष्ठुरी अभिभावक बनिरहने?

सम्माननीय प्रधानमन्त्रीज्यू, अहिले सामाजिक संजालमा एउटा नाङ्गो मानिसलाई प्रहरीले बजार घुमाएको तस्बिर भाइरल भइरहेको छ। शायद यो दृश्य तपाईं लेपनि हेर्नु भएको होला। सल्लाहकारहरूले यसबारेमा ‘ब्रिफिङ’ गरेका हुन सक्छन्। यो तस्बिर एक तन्‍नेरी नेपालीको हो, जो स्वदेशको भोकमरी छल्न विदेशमा रोजगारीका लागि गएका थिए। तर कोरोना महाव्याधिका कारण बेरोजगार बन्‍न पुगेर उनले मातृभूमि फर्किने निधो गरे। अनायासै गुमेको नोकरी र अप्रत्यासित लकडाउन (बन्दाबन्दी) पछि मरिने वा बाँचिने दोसाँधमा उनी अनेक दु:ख कष्ट सहँदै नेपाल-भारत सीमा (धार्चुला)सम्म आइपुग्छन्। तर, सीमामा मातृभूमि उनका निम्ति स्वागतको हात फैलाइरहेको हुँदैन।

स्वदेश छिर्ने नाका सिल मात्र नभई सश्त्र सज्जित सुरक्षाकर्मीले उनी र उनीजस्ता स्वदेश छिर्न खोजिरहेकालाई देशको सरहद भन्दा बाहिरै रोक्छन्। ‘मरता क्या नहिं करता’ भने जसरी उनी मातृभूमिको न्यानो अँगालोमा पुग्‍न चिसो र तीव्र बहावको महाकाली नदीमा हाम फाल्छन्। महाकालीको बेगसँगै पौंठेजोरी खेल्दै नेपाली किनार भेट्छन्।

तर नदी पार गर्न सफल उनी दु:ख भने पार गर्न सक्दैनन्। ‘तावावाट भुङ्ग्रोमा’ भने जसरी उनी सीमा सुरक्षा निम्ति तैनाथ सुरक्षाकर्मीको फन्दामा पर्छन्, स्वेदश प्रवेश गरेको कसुरमा। निर्वस्त्र उनलाई कब्जामा लिइन्छ र बजार घुमाइन्छ। त्यसपछि उनले के भोगे, त्यो रामजाने। बैचैनी र विचल्लीमा परेका हजारौं नेपाली तन्‍नेरीमध्येका उनी एक प्रतिनिधि पात्र हुन्। जसको पसिनाको कमाइलाई यस मुलुकले ‘रेमिट्यान्स’ भन्दै कूल ग्राहस्थ उत्पादनमा दर्ज गर्छ। तर, ती योगदानकर्ता स्वयम् जब विदेशी भूमिमा बिखलबन्दमा पर्छन्, तब स्वदेशको ढोका उनीहरूका लागि बन्द हुन्छ। हो, कोरोना संक्रामक रोग हो र यसै जो कोहीलाई निर्वाध प्रवेश दिन सकिन्‍न। तर कुनै व्यक्ति कोरोना संक्रमित छ-छैन भन्‍ने परिक्षणका पनि त विधि छन् नि! शंका लागेका त्यस्ता व्यक्तिलाई क्‍वारेन्टिनमा राख्‍न सकिन्छ।

यो कुनै पनि राज्यका लागि असम्भ कार्य होइन। यदि हवाइमार्गबाट फर्किएकालाई सरकार नि:शुल्क क्‍वारेन्टिनको व्यवस्था गर्न सक्छ भने स्थलमार्गवाट फर्किएका निम्ति किन भेदभाव गर्छ? ‘समाजवादउन्मुख’ मुलुकका निम्ति हवाई मार्गवाट र स्थलमार्ग भित्रिनेको मूल्य फरक हुन्छ हो? चीनको वुहानमा कोरोनाको संक्रमण फैलिइरहँदा ढिलै भए पनि राष्ट्रिय ध्वजावाहक पठाएर उद्दार गरिएको कामको सर्वत्र प्रशंसा भएको थियो। तर, भारतवाट स्वदेश फिर्न खोज्‍नेका निम्ति किन स्वागत नभएर डण्डा बर्साइन्छ? आज संसारका सबै मुलुक अन्य देशमा फसेका आफ्ना नागरिकको उद्धारमा सबै प्रतिकूलताका विपरीत जुटेका छन्। अमेरिका, फ्रान्स, जर्मनी आदि देशले हाम्रो मुलुकका कुना कन्दरामा फसेका आफ्ना नागरिकको खोजपड्ताल गरी चार्टर्ट विमानद्वारा दिनहुँ उद्धार गर्दै आएका छन्।

तर अनेकौं व्यवधान सहँदै र खुट्टामा ठेला उब्जाउँदै आफ्नै मातृभूमिको दैलोसम्म आएका आफ्नै दाजुभाइलाई हामी किन सरहदपारी राख्दै छौं? किन निर्मम लाठी बर्साउँदै छौं? कहाँ हरायो हाम्रो मानवीयता र कहाँ बिलुप्त भयो तपाईँ नेतृत्वको सरकारको जनताप्रतिको उत्तरदायिता? संकटमा नागरिक सरकारलाई त्यसरी नै हेरिरहेका हुन्छन्, जसरी भोको अनि थकित बालक आफ्ना आभिभावकतिर हेर्दछ।अनेकौं दु:ख र हण्डर खाएर घरको दैलोमा उभिएको सन्तानका निम्ति ढोकाको गजवार नखोल्ने कस्ता निष्ठुरी अभिभावक होलान्? यसको जवाफ मुलुकको प्रमुख कार्यकारीका रूपमा तपाईंले दिनुपर्छ। के कर र रेमिट्यान्स अनि नेतालाई भोट बटुल्न मात्रै जनता चाहिने हुन्? कोरोनाका कारण सीमामा अलपत्र परेका अब कता जाने? भारतबाट नेपालतिर मात्रै नभएर नेपालबाट भारत प्रवेश गर्न खोज्‍ने भारतीयसमेत सीमा सिलबन्दीका कारण विलखबन्दमा छन्।

नेपाल-भारतबीच विशिष्ट तथा ऐतिहासिक सम्बन्ध रहदै आएको छ। विपदका बेला एक देशका सरकारले अर्का देशका नागरिकको मद्दत गर्न सक्छन्। तर, सीमामा नागरिक विचल्लीमा पर्नु भनेको असलमा यी दुई देशबीचको कूटनीतिक असफलता पनि हो। अयोध्याबाट जन्ती लिएर आएका समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने तपाईं एक-आपसमा फोनवार्तामार्फत यस अन्यौल किन हल गर्नुहुन्‍न? सीमा छेउछाउका विद्यालय, गोदाम, सरकारी भवन र त्यतिसम्म पनि उपलब्ध नभए टेन्ट निर्मित क्‍वारेन्टिनमा राखेर आफ्ना असहाय नागरिकप्रतिको राज्यको दायित्व किन निर्वाह गर्नु हुन्‍न?

हामीलाई थाहा छ, तपाई मिर्गौला प्रत्यारोपणका कारण स्वास्थलाभ गरिरहनु भएको छ। शायद, आफ्नो स्वास्थ्यभन्दा तपाईलाई कोरोनाआक्रान्त आफ्ना मुलुकका नागरिकको स्वास्थ्यको बढी चिन्ता होला। हाम्रो आशा छ, सीमामा रोगसँगै भोकसँग जुधिरहेका असहाय नेपाली दाजुभाइको क्रन्दन पनि तपाईंसमक्ष पुग्‍नेछ र उनीहरूका निम्ति मातृभूमिको ढोका अविलम्ब खुल्नेछ।-थाहा खबर

प्रकाशित मिति April 4, 2020
Loading...