काठमाडौं :- विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमणलाई रोक्न सरकारले सीमा बन्द गर्दा अलपत्र परेका नेपालीलाई एक पल्ट प्रवेशको मौका दिइएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले नेपाल–भारत सीमा नाकामा अलपत्र नेपालीलाई अन्तिम पटक नेपाल प्रवेशको मौका दिने निर्णय गरेको हो।
सरकारले नेपाल प्रवेश गरेकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तसहित प्रवेशको अनुमति दिने निर्णय गरेको हो। सरकारले स्वास्थ्य जाँचपछि नेपाल प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
‘विशेषगरी दक्षिण नाकामा सयौँका सङ्ख्यामा भारतबाट फर्किएका नेपाली अलपत्र परेर समस्यामा परेका देखेका छौँ’, खतिवडाले भने, ‘यी नागरिकको पीडालाई देखेर हामीले अन्तिम पटक प्रवेशको मौका दिने निर्णय भएको छ।’
नेपाल प्रवेश भएपछि क्वारेन्टाइनमा राख्ने विषयमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय हुने मन्त्री खतिवडाको बताए। जनताको स्वास्थ्यका लागि सरकारले गरेको आह्वानलाई सबै नागरिकले अबलम्बन गरेको भन्दै मन्त्री खतिवडाले सबैलाई धन्यवादसमेत दिएका छन्। सरकारले शुक्रबारदेखि सीमा नाका बन्दको घोषणा गरेको थियो भने मंगलबारबाट पूरै देशभर लकडाउन गरेको छ।
प्रकाशित मिति March 25, 2020