युएई सरकारले भिसा सकिएकालाई  विशेष सुविधा दिने

कोरोना भाइरसबाट उत्पन्न त्रासका कारण स्थल र हवाईमार्ग बन्द भइ युएईमै बिना भिसा बस्न बाध्य सबैलाई युएई सरकारले विशेष व्यवस्था गर्ने भएको छ।सीमित समयको भिजिट भिसा लिएर युएई आएका हजारौं पर्यटक र रोजगारीमै रहेर पनि भिसा अवधि सकिएर स्वदेश फर्कन नपाएका सबैलाई कुनै जरिवाना नलिने संकेत युएई सरकारले गरेको छ।

युएई सरकारको भिसासम्बन्धी आधिकारिक सरकारी निकाय द फेडरल अथ्युरीटी फर आइडेन्टीटी एन्ड सिटिजनले एक सूचना जारी गर्दै युएईबाट बाहिरिन समस्या भएकाहरुको लागि एक विशेष मेकानिजमको घोषणा केही दिनमै गरिने जानकारी दिएको छ।नेपाली दूतावास अबुधाबीले पनि युएईमा भिसा अवधि सकिएकाहरुलाई वैधानिकरूपमा युएईमा रहन दिने यहाँको सरकारको तयारीबारे मार्च २४ मा विज्ञप्तिमार्फत् सूचित गरेको छ।

यो सूचनाले रोजगारीको अपेक्षा गर्दै भिजिट भिसामा नेपालबाट युएई आएका करिब १५ हजार नेपालीहरु लाभान्वित हुनेछन्। दैनिक रूपमा नेपालबाट करिब १ सय ५० सयको संख्यामा युएई आउने गरेको नेपाली अध्यागमन विभागको विगत ३ महिना अगाडिको तथ्यांकले देखाउँछ।आफ्नो भिसा अवधिभन्दा बढी युएईमा बसे दैनिक जरिवाना तिर्नुपर्ने योभन्दा अगाडिको नीति भए पनि हाललाई जरिवाना तिर्न नपर्ने भएको छ।

रोजगारीकै सिलसिलामा युएईमा रहेका हजारौं नेपालीहरु पनि यो सुविधा लिन सक्नेछन् । युएईमा दैनिक हजारौंको भिसा अवधि समाप्त भएको हुन्छ भने भिसा नवीकरण र क्यान्सलेसन, नयाँ भिसा आवेदन पनि उत्तिकै संख्यामा हुने गर्छ।

कोरोनाको त्रासका कारण बिलम्ब भएका सबै भिसा बाहकहरुले यो सुविधा लिन सकिने युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन्।नेपाली दूतावासले भिसासम्बन्धी सबै समस्याहरुको अभिलेखका लागि दूतावास कर्मचारी निर्मला थापालाई 054 505 3250 मा सम्पर्क गर्न सुझाएको छ।

प्रकाशित मिति March 25, 2020
Loading...