मरिन्छ जस्तो लागेको थियो ओली सरकारले बचाउनुभयो ! ओलीको जयहोस्

दाङ, फागुन ६ गते -: सासुलाई भन्दा उपचार गराइदिनु भएन ५० बर्षसम्म लुकाएर राखेको रोगबाट बल्ल मुक्त पाए’ दाङको बंगलाचुली गाउँपालिका वडानम्वर–६ की शिवा घर्ती नयाँ मान्छे भेटेपछि खुसी यसरी साटि हाल्नुहुन्छ ।२१ बर्षको उमेरमा खसेको पाठेघरको उपचार ७५ बर्षको उमेरमा भएपछि शिवा निक्कै खुसी हुनु भएको छ । ५० बर्षसम्म खसेको पाठेघर बोकेर कष्टकर रुपमै जीवन बिताउँदै आउनु भएको दाङको बंगलाचुली गाउँपालिका वडानम्वर–६ की शिवाले ७५ बर्षको उमेरमा उपचार पाउनु भएको छ

जेठो छोरो जन्मिदा खसेको पाठेघरको समस्याबाट शिवाले कान्छो नाति विद्यालय जाने समयमा आएर बल्ल मुक्ति पाउनुभयो । सुत्केरी भएको तीन दिनमै पानी ल्याउन जाँदा पाठेघर खसेको बताउँदै शिवाले पाठेघरको अप्रेसनपछि सजिलो हुने गरेको बताउनुभयो ।जेठोलाई जन्माउँदा सुत्केरी भएको समयबाट समस्या सुरु भएको हो । सुत्केरी भएको तीन दिनमै खोलाबाट पानी ल्याएर आउँदा आङ सर्लक्क गरेको थियो’, शिवाले भन्नुभयो, ‘सुरुमा त केही भएन । पछिपछि त साह्रै दुःख दिन थाल्यो । कसलाई भन्ने, लाज लागेर आयो । लामो समयसम्म समस्या लुकाएर राखेँ । साह्रै दुःख दिन थालेपछि सासूलाई भने तर औषधि गर्न पाइन ।

पछिल्लो ५/७ वर्षयता पाठेघर पाकेर पिप चुहिने गरेको बताउँदै ७५ वर्षिया शिवाले अप्रेसनपछि अहिले घरको काम सघाउने गरेको बताउनुभयो । ‘पिप चुने गथ्र्यो । माइत जाँदा पनि के गन्नाउँछ भन्थे । लाज लाग्थ्यो । बाँचूँला जस्तो लागेको थिएन’, शिवाले भन्नुभयो, ‘शिविरमा डाक्टरले अप्रेसन गरेपछि निको हुन्छ भनेको दिन साह्रै खुसी लागेको थियो । अप्रेसन गरेर फर्केर आएपछि अब बाँचिन्छ जस्तो लागेको छ ।’ श्रीमान् र छोरा बुहारीले गर्न नसकेको उपचार प्रदेश सरकारले गरिदिएकोमा हर्षित भएको बताउँदै शिवाले भन्नुभयो,मरिन्छ जस्तो लागेको थियो, सरकारले बचाउनुभयो ।

शिवाजस्तै गाउँपालिकाको वडानम्वर–६ कै मालिका ओलीले २० वर्षसम्म पाठेघर खस्ने समस्या भोग्नुभयो । प्रजनन् स्वास्थ्य शिविरमा चेकजाँच गरी अप्रेसन गरेर फर्केपछि घरको कामधन्दा मात्रै गोठालो जान सक्ने भएको मालिकाले जानकारी दिनुभयो । ‘बाँचूला जस्तो लागेको थिएन । गन्हाउने पिप चुहिन्थ्यो, क्यान्सर भयो कि जस्तो लागेको थियो । गाउँपालिकामा शिविर छ भन्ने सुनेर गएर चेक गराएर अप्रेसन गरेपछि सजिलो भएको छ’, मालिकाले भन्नुभयो, ‘हिजो आज त घरको काम गर्न सक्ने भएकी छु । ग्वाल जान सक्ने भएकी छु ।

शिवा र मालिका उदाहरण मात्रै हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ द्वारा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गतवर्ष वंगचुलीमा आयोजना गरेको शिविरमा चेकजाँच गराएका २४ जना महिलाहरुले पाठेघर खस्ने समस्याबाट मुक्ति मात्र पाएका छैनन्–बाँकी जीवन ढुक्कसँग बिताउने भएका छन् । पाठेघर खस्ने समस्या लुकाएर ठूलो गल्ती गरेको भन्दै पश्चाताप लाग्ने गरेको ७० वर्षिया मालिकाले बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमद्वारा सञ्चालित प्रजनन् स्वास्थ्य शिविर पाठेघर खस्ने महिलाहरुका लागि बरदान सावित भएको वंगलाचुली गाउँपालिकाले बताएको छ । गाउँपालिकाका महिला विकास शाखा प्रमुख पार्वती रानाले अप्रेसनपछि महिलाहरुले पुनर्जीवन पाएको जानकारी दिनुभयो । ‘गाउँपालिकाले वजेट विनियोजन गर्न नसकेको समयमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको १० लाख वजेटबाट प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरेर जटिल अवस्थामा रहेका २४ जना महिलाहरुको अप्रेसन गरेका छौं । उहाँहरुले पुनर्जीवन पाएको जानकारी दिनुभएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा अप्रेसन गरेर फर्किएका महिलाहरु हिजोआज मलाई भेट्दा हर्षले अंकमाल गर्न आउनुहुन्छ ।’

आर्थिक र सामाजिक सूचकका आधारमा पछाडि पारिएको समुदायका लागि प्रदेश ५ सरकारले मुख्यमन्त्री ग्रामीण कार्यक्रम सुरु गरेको भन्दै जिल्ला सहजकर्ता श्रीधरकुमार राजभण्डारीले जिल्लाका बंगलाचुली, राजपुर र बबई गाउँपालिकाका २ हजार ५ सय बढी समुदाय कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो । ‘विदेश जाने तयारीमा रहेका युवाहरु पासपोर्ट थन्काएर व्यवसायमा लाग्नुभएको छ । हामीले सञ्चालन गरेको मोटरसाइकिल मर्मत, सैलुन, होजियारीलगायतका तालिम लिएर युवाहरु व्यवसायमा लाग्नुभएको छ’, श्रीधरले भन्नुभयो, ‘हामीले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, क्षमताविकास, सामाजिक उत्तरदायित्वका कामहरु गरेका छौं । विद्यार्थी, युवा, कृषक, बृद्धबृद्धा सबैलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका छौं ।’

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ ले प्रदेशका ३५ वटा गाउँपालिकामा आर्थिक वर्ष ०७५/०७६ देखि सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम चालु आर्थिक वर्षदेखि प्रदेशका ७३ वटा गाउँपालिकामा लागु भएको सहजकर्ता श्रीधरले जानकारी दिनुभयो ।

प्रकाशित मिति February 18, 2020
Loading...