नक्सा निकालेर होईन नेपालको भूभाग फिर्ता लिएर सरकारले देखाउँछ – ओली

काठमाडौ -:  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताएका छन् ।सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकलाई सम्बोधनपछि सांसदको प्रश्नको जवाफ दिँदै उनले पश्चिम नेपालका कालिनदीको मुहान, लिम्पियाधुरा र लिपुलेक क्षेत्र तथ्य प्रमाणले नेपालका भूभाग भएको बताएका छन् । भारतसँगको सीमा विवाद समाधानका लागि के काम भइरहेको छ भन्ने सांसदको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, “भारतसँग वार्ता गर्ने विषय एकपक्षीय भन्ने कुरा होइन । हामी मुलुकको भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा त तुरुन्तै छापिन्छ ।

संविधान संशोधनका सम्बन्धमा सोधिएको प्रश्नको जवाफका सम्बन्धमा उनले उपयुक्त समयमा र औचित्यका आधारमा संविधान संशोधन हुने बताए । “संविधान मानेर नै हामी सबै यहाँ आएका छाँै । संविधान असंशोधनीय होइन । संविधानको संशोधन र स्वीकार्यता फरक फरक कुरा हो”, प्रधानमन्त्री ओलीले भने । उनले अदालतमा भएका विचाराधिन मुद्दाका सम्बन्धमा स्वतन्त्र न्यायापालिकाले न्याय निरुपण गर्ने भन्दै सरकारले यसमा हस्तक्षेप गर्न सक्दैन र त्यस्तो दृष्टिकोण पनि राख्दैन भनेका छन् ।

प्रधानमन्त्री ओलीले वैदेशिक लगानी ल्याएर पनि देश विकास गर्ने हो, यसमा कसले सहयोग ग¥यो को खुशी हुने भन्ने प्रश्नको अर्थ छैन भनेका छन् । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नभएको भन्ने प्रश्नको जवाफमा उनले अहिलेका प्रमुख दलले सङ्घर्ष गरेर नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताएका छन् । साथै उनले बराबरीको अवस्थामा महिला सहभागिता पु¥याउने र त्यसका लागि प्रक्रिया थालनी हुन्छ भने ।

सरकार उद्यमीका पक्षमा रहेको र उद्यमीका विरुद्धमा जान नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ भनेका छन् । सरकारले गोकर्ण रिर्सोटको जग्गा स्वतन्त्र ढङ्गले मूल्याङ्कन गरेर नै लिजमा दिएको अवगत गराउँदै उनले अतिक्रमण गरिएका सार्वजनिक जग्गा र अनियमितरुपमा लिज दिइएका जग्गाको छानबिन हुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति February 15, 2020
Loading...