एमसिसीबारे धेरै हल्लागरेर काम छैन, अध्ययन गरेर बोल्नू : परराष्ट्रमन्त्री

गुल्मी –:  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रहितलाई केन्द्रमा राखेर अमेरीकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) टुङ्गो लगाउने बताएका छन्। पे्रस संगठन नेपाल गुल्मीले मंगलबार गुल्मीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले राष्ट्रहितलाई केन्द्रमा राखेर एमसिसी विवाद समाधान गर्ने बताएका हुन्।

एमसिसीको बारेमा स्पस्ट नभएका र अध्यननै नगरी बाहिर धेरै हल्ला भएको भन्दै मन्त्री ज्ञवालीले पहिले अध्ययन गर्न र बोल्नका लागि आग्रह गरे। अहिले इन्डो प्यासिफिक सैन्य रणनीतिलाई जोडेर हल्ला फैलाएको भन्दै हल्लाका पछि नलाग्न र सत्य तथ्यका आधारमा रहेर बोल्नसमेत मन्त्री ज्ञवालीले आग्रह गरे।

आफू एमसिसीको बिषयमा छलफल गर्न बनाएको कार्यदलको सदस्यसमेत रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्ने बताए।

उनले विस्तृत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन बुझाउने पनि बताए । मन्त्री ज्ञवालीले बाहिर हल्ला गर्नुभन्दा अध्ययन गरेर बोल्न आग्रहसमेत गरे। अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले दुई ठूला पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि बाहिर आएका धेरै अनुमानका खेती समाप्त भएकोसमेत दाबी गरेका छन्।

प्रकाशित मिति February 4, 2020
Loading...