सबै सरकारी स्कूलमा होस्टेल र स्कूल बस अनिवार्य राख्नुपर्छ यो विचार कस्तो लाग्यो सेयर गर्दै जानुहोस !

पोखरा, १६ माघ-:  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले गाउँ–गाउँमा बसाइसराईले विद्यालयहरु बन्द हुने स्थितिमा पुगेको भन्दै अब हरेक स्थानीय तहहरुले कम्तिमा पनि चारपाँच वटा गाउँको विद्यार्थीलाई समेटेर विद्यालय निर्माण गर्नुपर्ने र स्कूल बसले विद्यार्थीलाई लाने ल्याउने व्यवस्था गर्नुपर्ने तथा टाढाको विद्यार्थीलाई होस्टेलको समेत व्यवस्था गर्नुपर्ने बताएका छन्।

गण्डकी प्रदेश सरकारले अहिले शुरुमा परीक्षणस्वरुप उच्च हिमाली जिल्लाहरु मुस्ताङ, मनाङ र म्याग्दी जिल्लाका ५ वटा ठाउँमा त्यसप्रकारको विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए। उनले संघीयताको मर्म जनतालाई बढीभन्दा बढी सेवा दिनु रहेकोमा जोड दिँदै त्यसका लागि सबै जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने बताए।

पाहार ट्रष्ट नेपालको सातौं वार्षिक साधारसभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गुरुङले नेपालमा संघीयता आइसकेपछि स्थानीय तहमा धेरै जिम्मेवारी हस्तान्तरण हुँदा यसको मार शिक्षा क्षेत्रमा परेको भन्दै उनले नेपालको शैक्षिक क्षेत्र अहिले अस्तव्यस्त अवस्थामा रहेको भन्दै राज्यले यसको उचित व्यवस्थापन गर्न जरुरी रहेको बताए।

पाहार ट्रष्टले नेपालको ग्रामीण भेगको शैक्षिक क्षेत्रमा नेपाल सरकारले समेत गर्न नसकेको काम गरिरहेको भन्दै टाठाबाठा र नेताहरुले यति काम गरेको भए कैयौं प्रचार हुने भन्दै सोझा र भूपूहरुले नेतृत्व गरेको संस्था भएकोले ठूलाठूला परियोजना समेत चुपचाप सम्पन्न हुने गरेको बताए। उनले आफ्ना कामको जनस्तरमा सन्देश लैजाने कुरालाई पनि नभुल्न भूपू सैनिकहरुलाई आग्रह गरे।

स्थानीय तहले विना अध्ययन र योजना विना नै भौतिक संरचनाहरु तयार गर्दा केही समयमा नै त्यो संरचना कामै नलाग्ने भएको र यसले राज्यको करोडौं रुपैंया नोक्सान भइरहेको भन्दै अबदेखि कुनै नयाँ ठाउँमा विद्यालय भवन, अस्पताल, विश्वविद्यालय आदि बनाउँदा यसको सम्भाव्यता अध्ययन गर्न जरुरी रहेको बताए। ‘योजना बनाएर मात्र काम गरौं, त्यसले मात्र राम्रो प्रतिफल दिन्छ’ उनले भने।

त्रिभुवन विश्वविद्यालय कुनै बेला देशकै नामी विश्वविद्यालय भएता पनि अहिले राजनीतिक भागबण्डा र नेता कार्यकर्ताको अखडा बनेको कारण सूर्यमुनि भएर पनि धमिलो भएको उनले बताए। नेपालका कुनै पनि विश्वविद्यालयले आफै बनाएको शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन गर्न नसकेको भन्दै अब नेपालका विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको पढाई सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।उनले नेपालमा शिक्षा नीतिलाई परिवर्तन गर्न अत्यन्तै जरुरी रहेको भन्दै पढेर हातमा सर्टिफिकेट मात्र लिने तर योग्यता र दक्षता भने केही नहुँदा सरकारलाई एक सय जना दक्ष कामदार चाहिँदा पनि मान्छे नपाउने तर बजारमा दसौं हजार बेरोजगार मान्छे भेटिने भन्दै सबैलाई प्राविधिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए।

प्रकाशित मिति January 30, 2020
Loading...