भरतपुरको केरा खान अयोग्य, प्रयोगशाला परीक्षणमा ४५ प्रतिशत बढी विषादी

चितवन, पुस १०-:  चितवनका केरामा अत्यधिक विषादी प्रयोग गरेको पाइएको छ । भरतपुरको क्षेत्रपुरमा राखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा मंगलबार भएको परीक्षणमा उपभोग्य स्तरभन्दा माथि विषादी भेटिएको हो ।कालिका नगरपालिका क्षेत्रमा उत्पादित ‘मालभोग’ केरामा विषादी भेटिएको कृषि ज्ञान केन्द्र चितवनकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले जानकारी दिइन् । उनका अनुसार, मंगलबार परीक्षण भएको केरामा एसिटाइल कोलिन इन्जायम ४५ प्रतिशत भन्दा बढी देखिएको थियो । ३५ प्रतिशतसम्म एसिटाइल कोलिन इष्ट्रिज इन्जायम भएको फलफूल वा तरकारी खान मिल्छ ।

तर, ४५ प्रतिशतसम्मको एसिटाइल कोलिन इष्ट्रिज इन्जायम भएको वस्तु खान अयोग्य हुने क्षेत्रीले बताइन् । मंगलबार केरामा विषादी पुष्टि गर्नका लागि तीन पटकसम्म परीक्षण गरिएको थियो । ‘हामीले विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला केन्द्रबाट अर्गानोफसफेट र कार्बामेट्स दुई प्रकारको विषादी मापन गर्छ,’ बाली संरक्षण अधिकृत क्षेत्रीले भनिन्, ‘मंगलबार केराको अर्गानोफसफेट परीक्षण गर्दा अधिक मात्रामा विषादी प्रयोग भएको पाइयो ।’ राज्यले एक किसिमको स्तर बनाएर विषादी माग गरेको छ । खान योग्यलाई हरियो, प्रशोधन गरेर खान मिल्ने वस्तुलाई पहेँलो र खान अयोग्य वस्तुलाई रातो सङ्केत दिने गर्दछ । ३५ प्रतिशतसम्म इन्जायम देखिएको वस्तुलाई हरियो ३५ देखि ४५ सम्मकोलाई पहेँलो ४५ प्रतिशत भन्दामाथिलाई रातो सङ्केत प्रदान गरिन्छ ।

पहेँलो सङ्केत भएका तरकारी केही दिनपछि खान मिल्ने उनले जानकारी दिइन् । किसानले बिरुवा रोप्ने समयमा र रोग देखा परेपछि बढी विषादी छर्ने गर्छन् । यसरी भेटिएका करिब २०० घरी केरालाई तत्काल नष्ट गर्नका लागि कृषि प्रबद्र्धन बजार विकास प्रालिको समितिलाई जिम्मा लगाइएको छ । तर, पनि बुधबार साँझसम्म केरा नष्ट गरिएको छैन ।कृषि प्रबद्र्धन बजार विकास प्रालिका अध्यक्ष शालिकराम घिमिरेले सम्बन्धित किसान जिल्ला बाहिर रहेकाले केरालाई सिलबन्दी गरेर राखिएको बताए । उनका अनुसार २५ हजार रुपैयाँ बराबरका २७ घारी केरा नष्ट गर्नका लागि राखिएको छ । चितवनमा तरकारी विषादी मापन प्रयोगशाला राखिएपछि व्यवसायीहरु पनि उत्साहित भएका छन् ।

कृषि प्रबद्र्धन बजार विकास प्रालिका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले अधिकमात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल बजारमा ल्याउन निषेध गरिने उनले बताए । विषादी प्रयोग भएका तरकारी तथा फलफूललाई नष्ट गरिने उनले बताए । यस बजारबाट दैनिक ३० हजार कोसा केरा बिक्री हुने गरेको छ । तर, सिजनको समयमा एक लाख कोसा बढी केरा बिक्री हुने गरेको उनले बताए । कृषि प्रबद्र्धन बजार विकास केन्द्रमा २५० भन्दा बढी स्टल रहेका छन् । यहाँबाट अन्य जिल्लामा समेत तरकारी सप्लाई गर्ने गरिन्छ ।

तरकारी बजारको केन्द्र मानेर यहाँ प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । कृषि ज्ञान केन्द्र भरतपुरले त्यहाँ विषादी प्रयोगशाला स्थापना गरेको हो ।यहाँ दैनिक पाँच वटा नमुना सङ्कलन गरेर विषादी मापन गर्ने गरिन्छ । विशेषगरी भेन्टा, बोडी, सिमी, गोलभेँडा, पर्वल, खुर्सानी सिमी र अफसिजनका तरकारीमा बढी विषादी प्रयोग हुने कार्यालयले जानकारी दिएको छ । तर, परीक्षण गरेका तरकारीहरु मध्ये अहिलेसम्म खानयोग्य नै भेटिएको कार्यालयले बताएको छ ।

प्रकाशित मिति December 26, 2019
Loading...