समाजवादी बाहिरिएपछि अप्ठ्यारोमा ओली सरकार ,दुई तिहाइको बहुमत गुम्ने

काठमाडौं-:  समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाउने भएको छ ।यद्यपी मंगलबारसम्म समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकामा उक्त पार्टी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र कायम हुनेछ ।समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत पुग्दैन ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुर्‍याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् ।समाजवादी पार्टीका १७ जना सांसद छन् । पहिले १६ जना सांसद रहेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि समाजवादी पार्टीमा १७ सांसद पुगेका हुन् । मंगलबारसम्म सरकारलाई सर्मथन गर्ने सांसदको संख्या १९१ जना छ ।

सोमबार मन्त्रिपरिषद बैठकमा आफूले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सहमति तोडिएको भन्दै उक्त पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाडेका छन् ।समाजवादी पार्टीबाटै मन्त्री भएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि सरकार छाडेका छन् ।

प्रकाशित मिति December 24, 2019
Loading...