राजपा रणनीति : ‘डेटिङ’ समाजवादीसँग, ‘लभ’ नेकपासँग

खुलेको छ भने सत्तासाझेदार दल समाजवादी पार्टीलाई भने बाहिरिन दवाव बढेको छ ।समाजवादी पार्टीसँग पार्टी एकीकरणका लागि सरकारबाट बाहिरिन शर्त राखेको राजपा अहिले सरकारमा जाने चर्चा बढेको छ । कतिपय जानकारहरुका अनुसार पार्टी एकताको लागि समाजवादीसँग घनिभुत वार्ता गरिरहेको राजपाले समाजवादीलाई ‘सप्राइज’ दिँदै नेकपासँग सहमति गर्न पुगेको छ । यसलाई कतिपयले राजपाको रणनीतिका रुपमा विश्लेषण गरेका छन् । उनीहरुका अनुसार समाजवादीसँग ‘डेटिङ’ गरिरहेको राजपाको भित्रभित्रै ‘लभ’ चाँहि सत्तारुढ दल नेकपासँग परेको रहेछ । तर, विहे चाँही को सँग हुन्छ हेर्न बाँकी छ ।

पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवसँग सन्तुष्ट छैनन् । त्यसै कारणले सरकारबाट आफैँ बर्हिगमन गरुन भन्ने उद्देश्यका साथ यादव विदेश रहेका बेला उनको मन्त्रालय सरुवा गरेका थिए । त्यति गर्दा पनि सरकारबाट नबाहिरिएपछि दवाव दिने उद्देश्यका साथ राजपासँग दुई बुँदे सहमति गर्न पुगेका छन् ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै राजपा नेपाल संघीय सरकारमा सहभागि हुनेछ । गएको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा नेकपा र राजपाबीच भएको दुई बुँदे सहमतिसँगै समाजवादी बिच्किएको छ । नेकपा र राजपाको सहमतिप्रति समाजवादी पार्टी आक्रोशित पनि बनेको छ । यद्यपी, राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले यो सहमतिले राजपा र समाजवादी पार्टीबीचको एकता प्रक्रियालाई प्रभाव नपार्ने दाबी गरेका छन् । तर, समाजवादी पार्टीका नेताहरु यो कुरासँग सहमत छैनन् । उनीहरु समाजवादीलाई एक्लाउन नेकपाले चाल चल्दै राजपालाई लिएको हुन सक्ने आकलन गर्दै झस्किएका छन् ।

दुई बुँदे लिखितसँगै दुई दलका बीचमा केही अलिखित सहमती समेत भएको छ । सहमती अनुसार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट समाजवादी बाहिरिने र राजपा नेपाल भित्रिने गोप्य सहमति भएको स्रोतको दाबी छ ।

समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा कानुन मन्त्री बंगलादेशको भ्रमणमा छन् । भ्रमणमा जानु अघि उनले राष्ट्रिय सभा निर्वाचनमा नेकपा र समाजवादीबीच सहकार्य गर्दै अगाडी बढने मौखिक सहमति नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेका थिए । तर, यादव बंगलादेश निस्कनासाथ नेकपाले राजपासँग राष्ट्रिय सभा निर्वाचनसँगै अगामी दिनमा समेत सहकार्य गर्ने सहमती गरेपछि राजनीतिक समिकरण परिवर्तन हुन लागेको हो ।

यसअघि भारत भ्रमणकै बेला प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दै स्वास्थमन्त्री रहेका यादवलाई कानुन मन्त्रालयतिर सरुवा गरेका थिए । समाजवादी पार्टीबाट स्वास्थ्य राज्य मन्त्री रहेका डा. सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो । त्यतिबेला सुरेन्द्र उपचारका लागि वीरअस्पतालमा भर्ना भएका थिए ।

मन्त्रीपरिषद पुनर्गठन गर्दा सत्तासाझेदार समाजवादीसँग छलफल नगरिएको भन्दै संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरे । समाजवादी संघीय परिषद र केन्द्रीय समिति बैठकमा भट्टराईले सरकार छोडने प्रस्ताव गर्दा यादवले नबाहिरिने प्रस्ताव पारित गराए । तर, पछिल्लो समय नेकपा र राजपाबीच भएको सहमतीले समाजवादी सरकार छोडने निश्चित भएको छ ।संघीय परिषद र केन्द्रीय समितिको बैठकबाट निर्णय गरेर सत्ताबाट बाहिरिन परिषदका अध्यक्ष डा. भट्टराईले दवाव दिइरहँदा अर्का अध्यक्ष यादवले रिक्त राष्ट्रिय सभा सदस्यमा भट्टराई पत्नी हिसिला यमीलाई लैजाने प्रस्ताव अघि सारेका थिए । यादवले देखाएको यो ललीपपसँगै डा. भट्टराई मौन बस्न पुगेका थिए ।

बालुवाटारमा भएको छलफलमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डका साथै सचिवालय सदस्य एवं उपप्रधान, रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागि थिए । त्यस्तै राजपाको तर्फबाट संयोजक राजेन्द्र महतोका साथै अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, महेन्द्रराय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव छलफलमा सहभागि थिए ।नेकपा र राजपाबीचको दुई बुँदे लिखित सहमतिसँगै राजपा संघीय सरकारमा सहभागि हुने, प्रदेश २ मा नेकपा र राजपाको सरकार गठन गर्ने अलिखित सहमती भएको स्रोतको दावी छ ।

प्रकाशित मिति December 20, 2019
Loading...