ओलीको सपना अब हुन्छ पुरा,मेची महाकाली रेल निर्माणका लागि सुरु भयो प्रक्रिया !

विराटनगर, मंसिर –:  मेची महाकाली रेलवे निर्माणका लागि आवश्यक रकम र दाता खोजी भईरहेको बेला यसका प्रक्रियागत कार्यहरु भने सम्पन्न गर्ने कार्यहरु भईरहेका छन् ।यसैक्रममा मेची महाकाली रेलवे आयोजना अन्तर्गतको इनरुवा काकडभिट्ठा खण्ड र इटहरी विराटनगर रेलवे लिंक निर्माणका लागि इआई अर्थात वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

रेल विभागले विराटनगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युतीय रेलवे निर्माणको रुट, यसको लागत, प्रभावित जनसंख्या, वन क्षेत्र र खोलानालाको अवस्था तथा जग्गा अधिग्रहण र मुआब्जा बारे सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।करिब १ हजार ७४ अरब निर्माण लागत अनुमान गरिएको पूर्व पश्चिम मेची महाकाली रेलवे करिब ९ सय २५ किलोमिटर र उत्तर दक्षिण लिंक रेलवे ८० किलोमिटर हुने रेल विभागले जानकारी दिएको छ ।

सो रेलवे आयोजनाको इनरुवा काकडभिट्ठा खण्ड करिब १०६ किलोमिटर र इटहरी विराटनगरको रेलवे लिंक करिब २० किलोमिटर लम्बाईको हुनेछ । पूर्वी खण्डको लागत भने करिब १ सय ७४ अरब हुने बताइएको छ ।मेची महाकाली रेलवे आयोजनाको डिपिआर बनिसकेको भएपनि दाता खोज्ने कार्य भईरहेकोले निर्माण शुरु हुने मिति भने अझै टुंगो लागिनसकेको रेल विभागका पदाधिकारीहरुले बताएका छन् ।

सो सार्वजनिक सुनुवाई कार्यक्रममा रेलवे मार्गमा पर्ने सम्बन्धित महानगरपालिका, गाँउपालिकाका प्रमुखहरु, जग्गावाला, नागरिक समाज र उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति December 16, 2019
Loading...