मेलम्ची आउने त कहिले कहिले आउँदा  पनि काठमाडौंका ११ लाखलाई पुग्दैन पानी

काठमाडौं –:  सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ । खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ ।

११ महिना ठप्प रहेको आयोजनाको काम अघि बढेसँगै पानी ल्याउने नयाँ डेडलाइनसमेत घोषणा गरिएको हो । अहिले काठमाडौं उपत्यकाको प्रक्षेपित चलायमान जनसंख्या ४२ लाख रहेको छ । त्यो जनसंख्यालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक १४ करोड लिटर पानी उपलब्ध गराइरहेको छ ।

सहरी क्षेत्रमा दैनिक प्रतिव्यक्ति एक सय लिटर पानी आवश्यक पर्ने प्रचलित मापदण्ड छ । त्यसअनुसार हाल काठमाडौं उपत्यकाको खानेपानी माग दैनिक ४२ करोड लिटर हो । मेलम्चीको पानी आउँदा (पहिलो चरणअन्तर्गत) दैनिक १७ करोड लिटर थपिनेछ ।

यसअनुसार काठमाडौंमा उपलब्ध पानी ३१ करोड लिटर पुग्नेछ । यसले ३१ लाख मानिसलाई मात्र खानेपानी पुग्ने भए पनि अझै ११ लाख मानिसलाई अभाव हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेत र तीर्थराज बस्नेतले लेखेका छन् ।

प्रकाशित मिति December 6, 2019
Loading...