नेपालको सिमा सुरक्षार्थ थप २६५ निगरानी चौकी आवश्यक -सशस्त्र प्रहरी

काठमाडौं-:  नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन । सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्रोत साधन अभावले सीमित क्षेत्रमा मात्रै सुरक्षा चौकी स्थापना गरेको छ । अहिले स्थापना भएका सीमा निगरानी चौकीभन्दा दोब्बर बढीको आवश्यकता छ । अत्यावश्यक क्षेत्रमासमेत सशस्त्र प्रहरी पुग्न सकेको छैन ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले समेत आवश्यक मात्रामा अझै ‘सीमा निगरानी चौकी’ स्थापना गर्न नसकिएको स्वीकार गरेको छ । सशस्त्र प्रहरी बल नेपालले अहिलेसम्म सीमा क्षेत्रमा १०७ चौकी स्थापना गरेको छ । उसले गरेको अध्ययनमा न्यूनतम २६५ स्थानमा सशस्त्रको उपस्थिति गराउनुपर्ने आवश्यकता छ ।सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जनशक्ति साधन, स्रोत र प्रविधिलगायत कारणले चौकी स्थापना गर्नेमा समस्या देखिएको बताउँदै आफ्नै प्रयासमा भएको जनशक्तिलाई परिचालन गरेर सशस्त्रले सीमाको निगरानी बढाउँदै आएको उल्लेख गरे ।

सीमा निगरानी बढाउन सशस्त्र प्रहरीका गत वर्ष २० चौकी थप गरेका र यो वर्ष २५ थप्ने योजना छ । ‘अहिलेसम्म मौजुदा सशस्त्र प्रहरीलाई नै परिचालन गरिरहेका छौँ, अब थप प्रहरीको उपस्थिति बढाउँदा जनशक्ति, स्रोतसाधन र प्रविधि आवश्यक हुन्छ’, श्रेष्ठले भने, ‘अहिले हाम्रो औषत १८ किलोमिटरको दूरीमा एउटा चौकी छ, एक चौकीबाट अर्कोको दूरी सात किलोमिटरमा झार्ने योजनाका साथ २६५ पोष्ट आवश्यक हुने भनेर पहिचान भएको छ, तब मात्रै सुरक्षा निगरानी राम्रो गर्न सक्छौँ ।उत्तरतर्फ १७ र दक्षिणतर्फ २४८ चौकी भएमा सुरक्षा निगरानी राम्रो गर्न सकिने भन्दै श्रेष्ठले यसका लागि ठूलो जनशक्तिको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति November 17, 2019
Loading...