‘बिहे मेरो लेखान्तमै रहेनछ – दिपाश्री निरौला

काठमाडौँ -: नेपालमा महिला फिल्ममेकर नगन्य छन् । तर, एउटा संयोग के भइदिएको छ भने नेपाली फिल्म इतिहासमा व्यावसायिक रेकर्ड राख्ने ‘छक्का–पञ्जा’ सिरिजको निर्देशक महिला हुन्— दीपाश्री निरौला । उनी निर्देशित तेस्रो फिल्म ‘छक्का–पञ्जा ३’ ले प्रदर्शनको १२ औं दिनमा १६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माताको दाबी छ ।

तीन फिल्मको सफलताको जस निर्देशकका रूपमा कति लिनुहुन्छ ? फिल्मलाई अब्बल बनाउने पहिलो तत्त्व पटकथा हो । कथालाई ‘इन्गेजिङ’ बनाउन पटकथाको अहम् भूमिका हुन्छ । त्यसपछि छायांकन, निर्देशन र सम्पादनको काम हुन्छ । सबैको केन्द्रमा निर्देशन हुन्छ । त्यसैले मैले जस पनि सोहीअनुरूप पाउँला ।

‘तीतो–सत्य’ मा सहायक निर्देशक हुनुहुन्थ्यो, फिल्ममा निर्देशक नै बन्नुभन्यो । यो छलाङ कतिको मुस्किल थियो ?
एकदमै गाह्रो भयो । फिल्मको क्यानभास नै ठूलो । टेलिफिल्म क्लोजअप मिडिया भएकाले ‘डेप्थ’ चाहिंदैन्थ्यो । सिनेमामा ‘डिटेलिङ’ चाहिन्छ । टेलिफिल्मको प्रभावबाट मुक्त हुन हामीले ‘छ एकान छ’ मा दिनेश डीसीलाई निर्देशक लियौं । उहाँको मेकिङ शैली गज्जबको थियो । दोस्रो फिल्म ‘वडा नम्बर ६’ मा निर्देशक उज्ज्वल घिमिरेबाट पात्रलाई समातेर सलल बगाउने शैली सिकें । ‘तीतोसत्य’ ले चाहिँ मलाई कसिलो र रसिलो ढंगले कथा भन्न सिकाएको थियो । यी तीन सिकाइको सम्मिश्रणपछि बल्ल ममा आत्मविश्वास आयो र ‘छक्का–पञ्जा’ को निर्देशनको कमान्ड सम्हालें । जति जानें, अभ्यासबाटै जानें, पढेको केही छैन ।

टेलिसिरियलको धङधङीबाट मुक्त भएको कुरा गर्नुभयो तर तपाईंका फिल्म सिरियलका दुई–चार भाग जोडेको जस्तो मात्र हुन्छ भन्ने आरोप छ नि ? (हाँस्दै) सिरियलमै देखेको कलाकारले अभिनय गरेकाले त्यस्तो लागेको हुन सक्छ । तर, हामीले फिल्मलाई फिल्मकै ‘फम्र्याट’ मा बनाएका छौं ।

आमदर्शकले ‘छक्कापञ्जा’ सिरिज यसरी रुचाउनुको कारण के होला ? “तीतोसत्य’ मा आमसरोकारको विषय रोजिन्थ्यो, रसिलो ढंगले देखाइन्थ्यो । त्यही भएर नम्बर वान थियो । फिल्ममा पनि हामीले आम मान्छेको मुद्दा उठान गरेका छौं । रिसर्च गरेपछि मात्र फिल्मको विषय छान्छौं । ‘छक्का–पञ्जा’ मा वैदेशिक रोजगारको विषय रोज्यौं तर भएको कुरा मात्र देखायो भने फिल्म डकुमेन्ट्री भइदिन्छ, त्यसबाट बच्न मसला हालियो । मनोरञ्जन दिने धर्म छोड्नुभएन । फिल्म हेर्ने पहिलो कारण भनेको मनोरञ्जन नै हो, त्यसपछि पटकथा हो । यही सूत्रलाई पछयाइरहेका छौं । पटकथा सक्दो बलवान बनाउने प्रयास गर्छौं । छायांकन गरेर सम्पादनको टेबलमा आएपछि सिलसिलेवार भएन भने ‘रिसुट’ गर्छौं । त्यही भएर हामीलाई फिल्म खिच्न ७५ दिन लाग्छ । यो सबै मिहिनेतको फल बक्स अफिसमा पाएका हौं ।

फिल्मको मुख्य धर्म मनोरञ्जन हो भन्नेमा खास विमति छैन तर तपाईंहरूले फिल्ममा पस्कने हास्य धेरै हदसम्म ‘सेन्सलेस’ र जोक्सको भण्डार मात्र भइदिन्छ । हाम्रो हास्यचेत तपाईंहरूले देखाएको जतिमै सिमित छ ?
मनोरञ्जन नहुने हो भने लामो रेसको घोडा हुन सकिन्न । बरु हाम्रो फिल्मका जोक्सले पछि सामाजिक सञ्जालमा व्यापकता पाउँछन् । जोक्सले मात्र चल्ने भए अरू जोक्सवाला फिल्म पनि चल्नुपर्ने हो नि । खै त ?

जोक्ससँगै सिरियलमा रुचाइएका दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङजस्ता हास्य कलाकारको डफ्फा पनि त छ । ‘छक्का–पञ्जा’ को मेरुदण्ड यी कलाकार होइनन् र ?
त्यसो भए, तिनै कलाकारले खेलेका अरू फिल्म किन हिट हुन्न ? हेर्नुस्, कलाकारको क्रेजले सुरुको दुई दिन मात्र चल्छ । कलाकारले मात्र फिल्म चल्ने भए शाहरूख खान, सलमान खालका फिल्म किन फ्लप हुन्छन् ? मुख्य कुरा, कथा र त्यसलाई पस्कने शैलीकै कारण हाम्रो फिल्म रुचाइएको हो ।

तपाईंको टिमको पाँच फिल्म लगातार सुपरहिट भए । अब जस्तो बनाए पनि चल्छ भन्ने सोच कतिको आउँछ ? त्यस्तो हुँदै हुन्न । ‘छक्का–पञ्जा’ को रेकर्ड ‘छक्का–पञ्जा ३’ ले तोडयो । त्यसैले आगामी प्रोजेक्टमा अझ गहिरिएर काम गर्नुपर्छ भन्ने महसुस भएको छ । हामीप्रति दर्शकको आस छ, हाम्लाई चाहिं अब के काम गर्ने भन्ने त्रास छ ।

निर्देशक कथावाचक हो । उसले जो कलाकार वा टिमसँग काम गर्न सक्नुपर्छ भनिन्छ । त्यसो हो भने, यो टिमभन्दा बाहिर बसेर काम गर्दा पनि सफलता पाउँछु भन्ने साहस र क्षमता छ तपाईंसँग ?
क्षमता नभएको भए त मेरै केटाहरूले पनि पत्याउँदैनथे होला । मलाई बाहिरी ब्यानरबाट धेरै अफर आएका छन् तर होम प्रोडक्सनबाटै वर्षमा एक–दुई राम्रो प्रोजेक्ट गरिरहेको छु भने बाहिर किन फड्को मार्नु ? कुरा सुनिदिने टिम भएन भने मान्छे फेल हुन्छ । त्यसैले आफ्नै घरमा एक किलो आलु पाइरहेको छु भने एक पाउ लिन किन छिमेकमा दौड्ने भन्ने हो । सबै माहोल मिल्ने अर्को टिम पाउने सम्भावना कम देख्छु ।

भनेपछि अर्को दसैंमा ‘छक्का–पञ्जा ४’ आउँछ ? दर्शकहरू त दुई–तीन महिनामै चौथो भाग चाहियो भनेर हुटिङ गर्नुहुन्छ तर फिल्म बनाउन कहाँ त्यति सजिलो छ र ? तत्कालका लागि चार भाग आउने सम्भावना छैन । अरू कुनै प्रोजेक्टमा काम गर्न खोजिरहेका छौं । अनि भनिहालूँ, अब हामी दसैंमा आउँदैनौं । फिल्म राम्रो बन्यो भने जहिले पनि चल्छ ।

फिल्मले मनग्ये पैसा कमाएपछि फिल्मवृत्तका साथीभाइबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? ओहो ! कुरै नगर्नुस् । हाम्रो मिहिनेत देख्दैनन् । सिर्फ, दीपक–दीपाले पैसा सोहोरिरहेका छन् भनेर डाह गर्छन्, त्यस्तो गर्न मिल्छ त ? सीमित साथीभाइ मात्र हाम्रो सफलताबाट खुसी छन्जस्तो लाग्छ ।

‘छक्का–पञ्जा’ सिरिजको तपाईं देखावटी निर्देशक मात्र हो । खास निर्देशक दीपकराज गिरी हो भन्ने गाइँगुइँ फिल्मवृत्तमै सुनिन्छ । यसलाई कसरी लिनुहुन्छ ?
किन स्वास्नी मान्छेहरू सिर्जनशील र क्षमतावान हुन्नन् ? त्यसो भए पारिजात, झमक घिमिरेलाई के भन्ने ? परापूर्वकालदेखि नै महिलालाई हेप्ने र कम आँक्ने शृंखलाकै निरन्तरता हो यो । सिर्जनामा ‘जेन्डर’ हुन्न । तर अलि गहिरिएर हेर्नुभयो भने केटाभन्दा केटी सिर्जनशील हुन्छन् । घर चलाउने केटी, जन्म दिने पनि केटी । उसमा प्रतिभा धेरै हुन्छ तर प्रयोग गर्ने ठाउँ पाएको हुन्न ।

हो, तपाईंको क्षमतामा शंका छैन । प्रमाणित गरिसक्नुभयो । तर, तपाईं महिला भएर फिल्ममा महिलालाई नै होच्याउनुहुन्छ भन्ने आलोचना उत्तिकै सुनिन्छ नि ?
यो नबुझेको कुरा हो । मेरो समाजमा धेरै पात्र छन् । पतिलाई तह लगाउने र कालो काम गर्नेलाई तह लगाउने महिला छन् । पति विदेश जाँदा परपुरुषसँग सम्बन्ध राख्ने अनि आफ्नो पति/प्रेमीलाई वर्षौंसम्म पर्खने महिला पनि छन् । यी पात्रलाई हामीले प्रतिनिधि बनायांै तर पर्खने महिलाको बारेमा कसैले वास्ता गरेनन् । परपुरुषसँग सल्कने पात्रलाई मात्र सर्वथा मानियो । यसले हामीमा नकारात्मकता कति रहेछ भन्ने प्रस्ट पार्छ । महिलाको नकारात्मक पक्ष देखाउनै नहुने त होइन होला नि ?

हाम्रो कलाकारितामा मात्र होइन । समाजमै सहकार्य टिक्दैन तर विपरीतलिंगी भईकन पनि दीपकराज गिरी र तपाईंको व्यावसायिक सम्बन्ध २६ वर्षदेखि टिकिरहेको छ । त्यस्तो तन्तु के छ जसले तपाईंहरूलाई जोडिराखेको छ ?
हाम्रो उद्देश्य समान छ, दीपक करिअरको लोभी छ, म पनि । दीपकबाट मैले राम्रोराम्रो पटकथा पाएको छु, साथ पाएको छु भने मैले किन छोड्ने ? र, दीपकले मबाट निर्देशन र व्यवस्थापन गर्ने साथी पाएको छ भने किन छोड्ने ? हरेक मान्छे आफैंमा सर्वगुणसम्पन्न हुँदैन । हामी टिक्नुको कारण भनेकै एकअर्काको प्रतिभाको परिपूरक हुनु हो ।

दीपकबाट छुट्दा किनारामा पर्छु भन्ने डर छ ? म यस्तो कुरा सोच्दिनँ । हामीले मिलेरै यति राम्रो काम गरिररहेका छौं भने किन छुट्ने ? फेरि हाम्रो झगडा नपर्ने होइन तर त्यसको उद्देश्य सकारात्मक हुन्छ, त्यही भएर अझ राम्रो प्रतिफल दिन्छ ।

अभिनयभन्दा निर्देशन प्राथमिकतामा राख्नुभएको हो ? मैले २०४८ सालमा ‘अग्निपथ’ सिरियल खेलें, त्यसपछि ‘संगिनी’ भन्ने भिडियो फिल्ममा सरोज खनालसँग काम गरें । त्यतिबेलै मेरो ध्यान ‘क्यामेरा वर्क’ तिर जान्थ्यो । त्यसपछि मैले हरेक सिरियल खेल्दा सहायक निर्देशक भएर काम सिकें । सम्पादन पनि सिकें । मलाई हिरोइन मात्र भएर आयु लामो हुँदैन भन्ने आभास भएको थियो । म कमेडियन बन्दा धेरै निर्देशकले ‘हिरोइनको छवि बनिरहेका बेला कमेडियन भई’ भनेर गाली गर्नुभयो । तर, मलाई मेरो छैटौं इन्द्रियले कलाकारितामा टिक्न कमेडी रोज्नुपर्छ भनेको थियो । किनभने, मलाई करिअरको खुब लोभ थियो ।

कलाकारितामा टिक्नु मात्र भएन, यति धेरै सफल हुनुभयो तर घरजम गर्नुभएन । अविवाहित हुनुहुन्छ । अभाव खट्कँदैन ?
म ज्योतिषमा धेरै विश्वास गर्छु । मेरो ज्योतिषी भिनाजुका अनुसार मेरो विवाहको योगमा वृहस्पति कमजोर छ, शुक्र बलियो छ, त्यो भनेको कलाकारिता हो । विवाह भइहाल्यो भने डिभोर्स वा अन्य वियोग हुन सक्छ रे । त्यसैले भिनाजुले भोलि विवाह भयो भने ठीकै छ, नत्र आफैंले धेरै चासो नदिनू भन्नुभएको छ । यसलाई पछयाइरहेकी छु ।

पूर्वीय दर्शनले जबसम्म महिला आमा हुन्न, तबसम्म पूर्ण हुन्न भन्छ । सन्तान जन्माउन मन त लाग्ला नि ? कुन्तीले हेरेर कर्णलाई जन्माइन् । मैले मेरो दिमागले हेरेर ‘छक्कापञ्जा’ जन्माएँ । फेरि बच्चा पाउनकै लागि पनि बिहे नै गर्नुपर्छ भन्ने छैन । ‘टेस्टयुब बेबी’ हुन सक्छ । अरू उपाय पनि छन् तर आमा भएर जिम्मेवारी बहन गर्न सक्दिनँ भन्ने लाग्छ । साँच्चै भन्नुहुन्छ भने अहिले मलाई घरजम गर्न वा आमा बन्नभन्दा यही चलचित्र नगरी प्यारो छ ।

भनेपछि कहिल्यै विवाह गर्न मन लागेन ? मलाई आज तपाईंलाई एउटा नयाँ कथा भन्छु । २०५० सालतिर विवाह गर्ने खुब रहर थियो । त्यतिबेला मेरो विराटनगरकै केटासँग लभ परेको थियो । म काठमाडौंमा बस्थें, उहाँ विवाह गर्नकै लागि काठमाडौं आउनुभयो । भोलिपल्ट हामी विवाह गर्दै थियौं । तर, रातभर मलाई छटपटी भयो, विवाह नभए हुन्थ्योजस्तो भयो । भोलिपल्ट मैले उहाँसँग एक वर्ष समय मागें, करिअरलाई अगाडि बढाउँछु भनें । उहाँले बिहे गरेपछि पनि करिअर अगाडि बढाउन सकिने बताउनुभयो । मैले विवाह बाधक बन्छ भनेर उहाँकै बहिनीको उदाहरण दिएँ, जो विवाहपछि नर्सिङ छाडेर पतिसँगै विदेश गएकी थिइन् । तैपनि उहाँले मान्नुभएन । त्यतिबेला मलाई काठमाडौंमा बस्न गाह्रो थियो, उहाँ धनाढय हुनुहुन्थ्यो । कोठा भाडा पनि उहाँले नै तिरिदिनुहुन्थ्यो तर मलाई त्यो रात मायामा फस्नुहुन्न, करिअरमा ध्यान दिनुपर्छ भन्ने लाग्यो । त्यही भएर बिहे तोकेको दिन ‘बिहे गर्न सक्दिनँ’ भनें । उहाँ खुब रुनुभयो, म पनि रोएँ । मचाहिँ ठीक गरें कि बेठीक भनेर रोएँ । त्यो कथा त्यहीं सकियो ।

हो, करिअर पनि सफल भयो । अबचाहिँ केले रोक्यो ? मेरो लेखान्तमै बिहे रहेनछ । मेरो ग्रहगोचरमा विवाह गर्दा पति मर्न सक्ने खालको छ रे । अब आफैं बुझ्नुस् न । तैपनि भाग्यमै भोलि कोही आयो भने बिहे पक्कै होला, नत्र कसरी होला र ?

दीपकराज गिरीसँगको सम्बन्धलाई कसरी लिनुहुन्छ ? दीपकको बिहे नभएको भए हाम्रो पक्का हुन्थ्यो । तर, उहाँ त विवाहित हुनुहुन्छ । त्यसैले एउटी नारी भएर अर्की नारीलाई रुवाउन जान्नँ । उहाँप्रति मेरो माया गहिरो छ । तर, त्यो मायाको गन्तव्य विवाह होइन ।कान्तिपुर दैनिक बाट साभार

प्रकाशित मिति October 28, 2019
Loading...