no-image

काठमाडौं: सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । बुधवार संघीय संसदमा अर्थमन्त्री. डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रको विकासका लागि ३ अर्ब ९९ करोड छुट्याएको हो ।

अर्थमन्त्रीले काठमाडौंमा खेलकुद परिसर निर्माण, अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न र सातवटै प्रदेशमा रंगशाला निर्माण गर्नेदेखि स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजनासहित खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेका हुन् ।

गत वर्षहरुको भन्दा यो वर्ष खेलकुद क्षेत्रका लागि बजेट धेरै आएको छ । अघिल्लो वर्ष सरकारले खेलकुद क्षेत्रमा ३ अर्ब ३५ करोड छुटाएको थियो । त्यसमा २४ करोडको वृद्धि भएर आएको छ ।

त्यसोत, युवा तथा खेलकुद मन्त्रालयलाई अर्थ मन्त्रालयले  २ अर्ब ९९ करोडको सिलिङमा रहेर कार्यक्रम बनाउन भनेको थियो तर बुधबार अर्थमन्त्रीले पेश गरेको बजेटमा सिलिङ रकम भन्दा १ अर्ब थपेर ३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ ।

योसँगै सरकारले यही वर्ष नेपालमा आयोजना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरीएको छ । त्यस्तै, नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पूर्वाधारको निर्माणका लागि पनि आवश्यक बजेट छुट्याएको अर्थमन्त्री खतिवडाले बजेट भाषणमा उल्लेख गरे ।

‘ गत आर्थिक वर्षहरुभन्दा यस वर्ष खेलकुदमा बजेट धेरै आएको छ । तर, शीर्षकहरु स्पष्ट नभएकाले बजेटमा शंका गर्ने ठाउँ प्रसस्तै छन्,’ राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले भने,‘सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने भनिएको छ । जुन शीर्षक नै स्पष्ट छैन । खेलग्राम अर्थात् ‘स्पोट्स भिलेज’ अन्तर्राष्ट्रि अभ्यासलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा बसोबासका लागि बनाइने स्थान हो । तर, यहाँ के भन्न खोजिएको हो स्पष्ट छैन । यस्तै, अन्य कुराहरु पनि हेर्दा बजेट गोल–मटोल देखिन्छ ।’

तर, खेल पत्रकार निरन्जन राजवंशी भने, सरकारले विनियोजन गरेके बजेटलाई अहिले नै विश्लेषण गरिहाल्नु पर्ने समय नभएको बताउँछन् । उनले भने,समग्रमा बजेट राम्रै गरी आएको छ । पूर्वाधार केन्द्रित छ ।  सातवटै प्रदेशमा रंगशाला निर्माण, प्रदेश र स्थानीय तहमा खेलग्राम लगायतका कार्यक्रम ठिकै छन् ।’

योसँगै बजेट पूर्वाधार केन्द्रीत आएको कारण पनि नेपाली खेलकुदको विकासमा अगाडि बढेको अनुमान लगाउन सकिन्छ । यसअघिका बजेटहरुमा पूर्वाधारमा धेरै ध्यान दिइएको थिएन् । सरकारले क्रिकेट तथा खेल मैदान निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसलाई निजी क्षेत्रबाट चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा सरकारले सहयोग गर्ने संकेत देखाएको छ ।

यद्यपि राखेप पूर्व सदस्य सचिव लामाले भने धुर्मुस–सुन्तली फाउण्डेसनलाई नेकपा अध्यक्ष गएर उद्घाटन गर्दा पनि शीर्षक छुट्याएर बजेट नछुट्याएकोमा असन्तुष्टि जनाए ।उनले भने,देशकै गौरवको आयोजना र अर्बौं लाग्ने परियोजनामा सरकारले एक रुपैयाँ नछुट्याउन दुःखद् कुरा हो । यस्तै, देशका विभिन्न स्थानमा बन्न लागेका खेल मैदानका लागि सरकारले बजेट नछुट्याउनु पनि दुःखद् हो ।

यता पत्रकार राजवंशी भने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भन्ने लाइनले नै धुर्मुस सन्तली फाउण्डेसनले बनाउन लागेको रंगशालालाई सहयोग गर्ने भन्न खोजेको बताउँछन् ।काठमाडौं र पोखरामा डिसेम्बरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि मन्त्रालयले ४ अर्ब खर्च लाग्ने यसअघि नै सार्वजनिक गरीसकेको छ । सागका लागि शीर्षक छुट्याएर बजेट विनियोजन नभएपनि साग हुनेमा भने शंका छैन ।

कुनै पनि काम गर्न बजेट नै महत्वपूर्ण हुन्छ । साग आयोजनाका लागि मन्त्रालयले सरकारसँग ४ अर्बको बजेट अनुमान गरेको थियो । साग नेपालमै हुने भएपछि त्यसका लागि बजेट आवश्यक बजेट दिनु सरकारको दायित्व समेत हो ।

संघीय संसदमा बुधबार अर्थमन्त्री डा. खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै नेपालले आयोजना गर्न लागेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई सफल पार्न आवश्यक बजेट विनियोजन गरेको बताए ।

क्रिकेटको विकासका लागि एकेडेमी स्थापना गरिने बताएका मन्त्री खतिवडाले मुलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण २ वर्ष भित्र सम्पन्न गर्ने गरी १० करोड विनियोजन गरेको छ । तर, १० करोड रकम क्रिकेट विकासका लागि प्रयाप्त नभएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति May 29, 2019
Loading...