काठमाडौं -: राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाल क्रिकेट संंघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्वनबाट फुकुवा गरेकामा उनले खुसी जनाएका छन् । क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको उनले बताएका छन् ।
आईसीसीले २०७३ वैशाखमा लगाएको निलम्वन सोमबार मात्रै सर्तसहित फुकुवा गरेको थियो ।मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु उनले सामाजिक सञ्जालमा लेखेका छन्,नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको छु ।
पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तान पद सम्हाल्दै आएका थिए । सन् २००९ मा विनोद दासपछि पारसले जिम्मेवारी सम्हालेका हुन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको एसीसी टी–ट्वान्टी एलिट कप ट्रफीमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए ।पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।
https://www.facebook.com/official.ParasKhadka/