विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

काठमाडौं– विश्वकप छनोटअन्तर्गत नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। यो नेपालको  अन्तिम अवे म्याच हो। खेल नेपाली समयअनुसार ९ः४५ बजे शुरु हुनेछ।

नेपाल जोर्डनविरुद्ध जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदैछ। छनोट अन्तर्गत नेपालले ३ खेल खेलिसकेको छ। पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई हराएको थियो। तेस्रो खेलमा  नेपाल अस्ट्रेलियासँग हारेको थियो।

नेपालले जोर्डनसँग अहिलेसम्म दुई खेल खेल्दा  एक खेलमा ९–० को फराकिलो अन्तरले पराजित भएको थियो भने एक खेलमा १–१ गोलको बराबरी भएको थियो। फिफा वरियतामा जाेर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ। आफूभन्दा बलियाे टाेलीसँग खेल्न लागेकाे नेपाल खेल आफ्नाे पक्षमा पार्ने दाउमा छ।

नेपाली टिमको गोलकिपरमा किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अजित भण्डारी, रोहित चन्द, रजित धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ रहेका छन्। त्यस्तै मिलफिल्डरमा सुनिल बल, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज तामाङ छन् भने फरवार्डमा अभिषेक रिजाल, रवि पासवान, विमल घर्ती मगर, अन्जन विष्ट छन्।अंक तालिकाको चौथो स्थानमा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको छ। २ खेल खेलेको अस्ट्रेलिया शतप्रतिशत जितसहित पहिलो स्थानमा छ।

प्रकाशित मिति October 15, 2019
Loading...