प्रधानमन्त्रीद्वारा दशैंको टीका-जमरा ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंको टीका शुभ(साइत भन्दा केही ढिला गरी पिताको हातबाट लगाएका छन्। पिता मोहनप्रसाद ओली गृहजिल्ला झापाबाट आउन ढिला भएका कारण प्रधानमन्त्रीले शुभसाइतमा टीका लगाउन नपाएका हुन्।

टीकाको शुभसाइत बिहान १०: ३५मा रहे पनि झापाबाट जहाजको उडान ढिलो भएकोले प्रधानमन्त्रीले दिउँसो साढे दुई बजेतिर पिताको हातबाट दशैंका टीका ग्रहण गरेका हुन्। यसअघि प्रधानमन्त्रीले शुभसाइतमै बुबाको हातबाट टीका लगाउने कार्यक्रम तय भएको थियो।

प्रधानमन्त्री ओलीका पिताले ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई धार्मिक विधिपूर्वक टीका, जमरा तथा प्रसाद प्रदान गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले धर्म पत्नी राधिकालाई टीका र जमरा लगाइदिएका थिए। बुबा आउन ढिला भएपछि प्रधानमन्त्रीले निर्धारित कार्यतालिकाअनुसार यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका थिए।

प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति भण्डारीबाट दशैंको टीका ग्रहण गरेका थिए। प्रधानमन्त्रीले अब केही समयपछि मन्त्रीसहित विशिष्ट तथा विभिन्न पार्टीका नेतालाई टीका लगाइदिने योजना बनाइएको उनको सचिवालयले जनाएको छ। पार्टीका कार्यकर्ता तथा सर्वसाधरणलाई अपराह्न ४ बजेदेख बेलुका सात बजेसम्मको समय तोकिएको छ।

 

प्रकाशित मिति October 8, 2019
Loading...