आज महानवमी, वर्षमा एकपटक खुल्ने तलेजु मन्दिरमा भक्तजनकाे भीड !एक सेयर गरि हामी पनि दर्सन गरौ

दसैंको नवौं दिन आज (सोमबार) महानवमी पर्व, दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै छ।घटस्थापनाका दिन राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिनेले भने आ–आफ्नो कुलपरम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउँछन्।देशका धेरै ठाउँमा महाअष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ।मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध)ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

महानवमीका अवसरमा आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।आज बिहानै हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ।

वर्षमा एकपटक महानवनीका दिन खुल्ने तलेजु भवानीमा भक्तजनकाे भीड
हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि वर्षमा एकपटक महानवमीका दिन मात्र आजै खुलाइन्छ।वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज त्यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ।तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन बिहानैदेखि लाममा बसेका छन्। नेवारी समुदायले भने आज भीमसेनलाई बलिसहित पूजा गर्छन्।

प्रकाशित मिति October 7, 2019
Loading...