इनरुवा, ५ असोज –: नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका रेशमलाल चौधरी छिटै मुक्त हुने बताउनु भएको छ ।
अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधनका क्रममा टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने जिकिर पनि गर्नुभयो । टीकापुर घटनाको विषयमा पार्टी भित्र सैद्धान्तिक निर्णय भैसकेको बताउनु भएका प्रचण्डले निर्णय कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
रेशमलाल चौधरी तर्फ लक्षित गर्दै प्रचण्डले जनमत पाएर निर्वाचित सांसदलाई ससम्मान राजनीतिमा आउने वातावरण बनाइने बताउनुभयो । जसका लागि पार्टी पंक्ति लागि परेको दाहालको भनाई छ ।
थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवलाई नेकपाका प्रदेश संयोजक भीम आचार्यसहित कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरी लगायतकाले सम्बोधन गर्नु भएको थियो ।