विप्लव माओवादीको बन्दको प्रभाव राजधानीमा सामान्य, किन गरियो नेपाल बन्द ?

काठमाडौं,१३ जेठ । विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीमा सामान्य परेपनि अन्य जिल्लामा बन्दले जनजिवन प्रभावित भएको छ । विप्लव समुहले प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा बन्दको आह्वान गरिएको हो ।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ । अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन् । निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् ।निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकाको सवारी आवागमन सोमबार बिहानैदेखि केही प्रभावित भएको छ । सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेको महाशाखाको भनाइ छ ।

काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन् । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन् ।यद्यपि, रात्रि बस भने उपत्यकाबाट बाहिरिएका थिए । पृथ्वी राजमार्गलगायतका विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु भेटिएपछि स्कर्टिङ गरेर रात्रिबसलाई गन्तव्यतर्फ पुर्‍याएको प्रहरीले जनाएको छ ।

बन्दको प्रभाव उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ । कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन् ।

प्रकाशित मिति May 27, 2019
Loading...