“नेतादेखि गुण्डाको कारण जलविद्युत निर्माण महंगो भयो” : नेता नेपाल

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा जलविद्युत उत्पादनको लागत बढ्नुमा नेतादेखि स्थानीय गुण्डाहरुको हात रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईपान) ले आयोजना गरेको नेपालमा जलविद्युतको अवस्था र लगानीको वातावरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले कुनै गाउँमा बाटो , स्कुल देखि विभिन्न आयोजनाहरु निर्माण गर्दा कर्मचारीदेखि नेता डन सबैलाई खुसी बनाउँनु पर्दा यस्ता आयोजनाहरु मंहगो हुने गरेको बताएका हुन् ।

उनले भने एउटा आयोजना बनाउँदा वडामा सडक,स्कुल र अस्पताल बनाइदिनुपर्छ।जलविद्युत स्वीकृतिका लागि कर्मचारीलाई घुस खुवाउनुपर्छ।नेता र डनलाई खुशी बनाउनुपर्छ। अनि कसरी आयोजना सस्तोमा बन्छ ?” यी सबै कारणहरुले नै जलविद्युत आयोजना महंगो हुने गरेको उनको धारणा छ । साथै नेता नेपालले भ्रष्टचारकै कारण जलविद्युत आयोजना मात्रै नभएर कुनैपनि काम समयमै सम्पन्न नहुने गरेको धारणा राखे ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले जलविद्युत निर्माणमा निजी क्षेत्रलाई पनि समावेश गरेपछि विद्युत उत्पादनमा सन्तोषजनक अवस्था सृजना भईरहेको बताए । उनले २०४६ साल सम्म २०० मेगावाट पनि विद्युत उत्पादन नभईरहेको बेलामा निजी क्षेत्रलाई पनि खुला गरेपछि जलविद्युत निर्माणले तीब्रता पाएको बताए। उनले जलविद्युतमा निजी क्षेत्रको ५० प्रतिशत हिस्सा रहेको बताउँदै निजी क्षेत्रले १३ हजार मेगावाट जलविद्युत उत्पादनको अनुमति पाएको जानकारी दिए।

यता सरकारको आलोचना गर्दै नेता महतले सरकारले जनताको जलविद्युत कार्यक्रम भनेर जथाभावी प्रचार गरेको आरोप लगाए । उनले सरकारले जुन पायो त्यही आयोजना लगानी गर्दै हिड्न राम्रो नभएको बताए । उनले भने सरकारले सेलेक्टेड आयोजनामा मात्रै लगानी गर्नुपर्छ। निजी क्षेत्रले नसक्ने ठाउँमा मात्रै सरकारले हात हाल्ने हो । साथै उनले आफु अर्थमन्त्री हुँदा १० वर्ष सम्म आयकर छुट र त्यसपछिको ५ वर्ष भ्याटमा छुट र ५० लाख रुपैयाँ एकमुष्ठ अनुदान दिने लगायतका निर्णय गरेको तर कम्युनिष्ट सरकारले यस बिषयमा चासो नदिई सहुलियत नदिइको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति September 19, 2019
Loading...