छैन थोपा पानी वितरण, ३० लाख रुपियाँ चियाको विवरण

गोकर्ण दयाल -: बैतडी, भदौ २९ गते । जिल्लाको मेलौली नगरपालिकाका नगरबासीले खानयोग्य पानी पाएका छैनन् तर जनप्रतिनिधिले चियामा मात्रै ३० लाख रुपियाँ खर्च गरेका छन् ।नगरबासीले खानेपानीको ट्याङ्कर किनेर पानी आपूर्ति गर्न माग गरे पनि नगरपालिकाले ट्याङ्कर नकिनेर जनप्रतिनिधि चढ्ने थप गाडी किन्ने निर्णय गरेपछि नगरबासी आक्रोशित बनेका छन् ।

मेलौली नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीका धेरै गुनासो आएका छन् । तर, नगरबासीको गुनासो सुन्न सार्वजनिक कार्यक्रममा न मेयर हुनुहुन्थ्यो न त प्रमुख प्रकाशकीय अधिकृत नै ।कुल नौवटा वडा रहेकोमा तीन जनामात्रै वडा अध्यक्षहरु सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा वडा नम्बर १, २, ३, ४, ५, र ९ नम्बरका वडा अध्यक्षहरु सहभागी हुनुभएन ।

नगरपालिकाका मेयर कृष्णसिंह नायक काठमाडौं भएको र वडा अध्यक्षहरु सार्वजनिक सुनुवाईमा उपस्थित नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बिष्टले बताउनुभयो । बिष्टले भन्नुभयो, ‘उपमेयर राधा ओझाको अध्यक्षतामा सार्वजनिक सुनुवाई भएको हो । नागरिकहरुको सहभागिता भए पनि सबै जनप्रतिनिधि उपस्थित नहुँदा कार्यक्रम खासै प्रभाकारी बन्न सकेन ।’

उपमेयर राधा ओझाले सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउनुभएको छ । ओझाले भन्नुभयो, ‘‘कतिपय कुरा मेयरज्युले जवाफ दिनुपर्ने पनि थिए । सकेजति नगरबासीको गुनासोको जवाफ दिएँ ।खानेपानीको हाहाकार ब्यहोरिरहेका मेलौली नगरबासीको गुनासो र मागको कुनै सुनुवाई नहुँदा खिन्न भएको नगरबासीले बताएका छन् । नगरपालिकामा गाडी र मोटरसाईकल हुँदाहुँदै थप गाडी किन्ने कुराले दुःखी बनाएको स्थानीय होटल व्यवसायस् एवं बजार व्यवस्थापन समितिका उपाध्यक्ष विजयसिंह नायकले बताउनुभयो ।

विजयसिंहले भन्नुभयो,नगरपालिकामा खानेपानीको चर्को समस्या छ, घोडा र खच्चरमा पैसा तिरेर कति पानी बोक्नु ? खानेपानीको ट्याङ्कर किनेर पानी आपूर्ति गर्न माग गरे पनि कुनै सुनुवाई भएन, पानीको समस्याले होटल चलाउनै मुश्किल परेको छ ।२२ हजार पाँचसय ४५ जनसंख्या भएको मेलौली नगरपालिकामा तीन हजार नौसय ३४ घरधरी छन् । खानेपानीको समस्या झेल्दै आएका मेलौली नगरपालिकाका बासिन्दाको मुख्य माग खानेपानीको आपूर्ति भए पनि नगरपालिकाले स्थानीयबासीको माग सम्बोधन गर्न सकेको छैन ।

मेलौली नगरपालिकाले अधिकांश बजेट सडकमा खर्च गरेको छ । सडकको सर्वे र डिपीआर गर्न मात्रै मेलौली नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ मा ८४ लाख ७५ हजार तीनसय ५५ रुपियाँ खर्च गरेको छ ।सडकतर्फ डिपिआर भएका योजनाको समेत सर्वे गर्ने भन्दै प्राविधिकले नियम विपरित पेश्की लिएको समेत पाईएको छ । वडा नम्बर ५ को लामालेक–खलगाड–तिताबै लगायतका ६ वटा ग्रामीण सडकमा प्राविधिकले नियम विपरित पेश्की लिएका हुन् ।

सडक निर्माण गर्दा प्रदेश सरकारबाट स्वीकृत गर्नुपर्ने प्रावधान भए पनि नगरपालिकाले नियम विपरित रिपोर्ट बनाएर जथाभावी सडक निर्माण गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति September 16, 2019
Loading...