एक वर्षमा गण्डकी प्रदेशका सबै जनताको घरमा धारा !

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले एक वर्षभित्रमा सबै जनताको घरमा धारा पु-याउने उद्घोष गरेका छन् । पोखरा २२ मा रहेको पुम्दीभुम्दी खानेपानी तथा सरसफाइ आयोजनाको नवौं साधारण सभामा शुक्रबार मन्त्री बस्नेतले भने,प्रदेश सरकारले अबको एक वर्षभित्र प्रदेशका जनताको घरमा धारा जडान गर्नेछ ।

दुई वर्षभित्र प्रदेशका सबै जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उनले जनाए । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले नै दुई वर्षभित्र प्रदेशमा आधारभूत खानेपानीको व्यवस्था मिलाउने निर्णय गरेको जानकारी गराउँदै सरकारका प्रवक्ता मन्त्री बस्नेतले त्यसलाई कार्यान्वयन गर्न सरकार लागिपरेको बताए ।

व्यावसायिक कृषिमा युवा आकर्षण बढाई कृषिमा अनुदान दिने र विदेशमा भएका युवालाई स्वदेशमा फर्काएर आफ्ना गाउँ ठाउँमा उत्पादन गर्नेतर्फ प्रोत्साहन गर्ने रणनीतिक योजना प्रदेश सरकारले लिएको उनले जानकारी गराए ।रोजगारीका लागि बिदेसिएका नेपालीको परिवारमा छोराछोरीले बाबुआमा नै नचिन्नेसम्मको समस्या छ उनले भने,गण्डकी सरकारले अब यसको अन्त्य गर्छ ।

पुम्दीभुम्दीको सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारले लिने मन्त्री बस्नेतले बताए । उनले, भने,प्रदेश सरकारले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने योजना बनाएको छ, यस क्षेत्रका सडकमा हामी लगानी गर्छौं,अब पुम्दीभुम्दीबासीले सडकको चिन्ता लिनु पर्दैन ।

विकासको मोडल यस्तो हुन्छ भनेर देखाउने गरी गुणस्तरीय सडक निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको मन्त्री बस्नेतले जनाए ।केही निर्वाचन क्षेत्रमा नमुना सडक निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ उनले भने,रणनीतिक महत्व राख्ने बाटाहरु छनोट हुँदै छन्, अब मन्त्री र सांसदलाई यो बाटोमा बजेट पार्दिनुहोस् भन्दै मन्त्रालय धाउनु पर्दैन ।

 

प्रकाशित मिति September 7, 2019
Loading...