नेपालको बाटो अवरुद्ध हुनेगरी भारतले सडक खन्दा तिङ्कर जान पाएनन् नेपाली सुरक्षाकर्मी!

दार्चुला:  नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिकाका स्थानीय बसाइँसराइ गरेर गाउँपुगेपनि स्थानीय भन्दा पहिला पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्न सकेका छैनन् ।

छागरु र तिङ्करका स्थानीयवासी झण्डै एक सातासम्म भारतीय बाटो भएर गाउँ पुगेका हुन् ।

गत मङ्सिरमा स्थानीयवासी खलङ्गा बसाइँ सरेपछि त्रिदेशीय नाका तिङ्कर र नेपाल–भारत जोड्ने सीमा सीतापुलमा रहेका प्रहरी अहिले पनि ब्यास–२ दुम्लीङमै छन् ।छ महीना राज्यको उपस्थिति रहने उक्त स्थानमा रुपमा रहने नेपाल प्रहरी छाङ्गरु र तिङ्कर उक्लिन सकेको छैन् । नेपाली सुरक्षाकर्मी छाङ्गरु र तिङ्कर पुग्न नेपालतिर बाटो छैन । स्थानीयवासीले भारतीय अनुमति लिएर बाटो प्रयोग गरे पनि हतियारसहित जानुपर्ने प्रहरीले भारतीय बाटो प्रयोग गर्न मिल्दैन ।

गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको भएपनि भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ ।

ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नभएकै कारण अहिले नेपाल प्रहरीले ब्यासको छाङ्गरु तथा तिङ्कर पूरै उक्लिन नपाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार केही प्रहरीलाई मात्रै सितापुल पठाइएको छ ।प्रहरीले रासन हातहतियारसहित माथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सितापुलमा सुरक्षाकर्मी पुर्‍याउन सदरमुकाम खलङ्गाबाट हेलिकप्टरमार्फत नेपाल प्रहरी पठाउने तयारी छ ।

नेपाली सेनाको हेलिक्पटरमार्फत सुरक्षाकर्मी सितापुल लगिने बताइए पनि हेलिकप्टर आउन सकेको छैन । हेलिकप्टर आउन अझै चार पाँच दिन लाग्ने जानकारी आएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति May 25, 2019
Loading...