थोरैमा काम सकिएको भन्दै ठेकेदार रामबाबुले फिर्ता गरे राज्यलाई ४० लाख!

११ जेठ, रामेछाप:  समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ ।

निर्माण व्यवसायीको रवैयाले  छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् । अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् । यति मात्रै होइन, उनले फाइदा भएको रकम पनि राज्यलाई फिर्ता गरेका छन् ।रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन् ।

भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् ।यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी । र, सञ्चालक हुन् -रामबाबु घिमिरे ।

घिमिरेकाे निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएकाे थियाे । त्यसकाे लागत रकम थियाे- १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ  ।तर घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए । त्याे पनि निर्धारित समयमा नै ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएकाे ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए । तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता घिमिरेले सुनाए ।

घिमिरेकाे उदाहरणीय कामबाट राज्यकाे ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।खानेपानी डिभिजन कार्यालयको भवन निर्माणको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय ८२ रुपैयाँ, शहरी विकास फिल्ड कार्यालय भवनको लागि ५ करोड ७६ लाख ७२ हजार १ साय ४ रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवास भवको लागि २ करोड २४ लाख ३७ हजार ४४ रुपैयाँ रकम खर्च भएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भूकम्पपछिको पुणर्निर्माणको लागि एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत साझेदारी कार्यक्रमको लगानीमा ती भवनहरु निर्माण भएको हो । निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टिन, ग्यारेज र फर्निचरको सुविधा सहित अपाङ्ग मैत्री छन् ।

निर्माण सम्पन्न भएका भवनहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभाकरलाल कर्णले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति May 25, 2019
Loading...