भारत: कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको मृत्यु, १० ले हाम्फालेर ज्यान गुमाए!

भारत-भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको ज्यान गएको छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो ।

भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए । आगाको मुस्लो र धुवाँबाट निस्सासिनबाट बच्न भुइँमा हाम्फालेका विद्यार्थीमध्ये १० को मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

घाइते दुई दर्जन विद्यार्थीको उपचार भइरहेको छ । आगलागीलगत्तै पुगेका १८ दमकलले आगो निभाएका थिए । साथै भवनमा फसेकालाई हाइड्रोलिक क्रेन लगाएर उद्धार गरिएको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन ।

तीन महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा आगलागीमा
१८ को ज्यान गएको थियो । दिल्लीको करोलबागको होटल अर्पित प्यालेसमा आपतकालिन निकास नहुँदा निस्सासिएर उनीहरुको ज्यान गएको थियो ।

प्रकाशित मिति May 25, 2019
Loading...