नेकपा सांसदको आक्रोश– कुलमान घिसिङ र वर्षमान पुन ‘श्री ३ महाराज’ भए

काठमाडौं-:  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्र बहादुर महतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् ।

आफूले प्रतिनिधित्व गर्ने क्षेत्र कर्णालीको जुम्लामा अहिलेसम्म पनि विद्युत सेवा विस्तार नभएकोप्रति आपत्ति जनाउँदै सांसद महतले समस्या सुनाउन खोज्दा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले फोन नै नउठाउने गरेको भन्दै आक्रोश पोखे ।

‘कर्णालीको सदरमुकाम जुम्ला अहिले अँध्यारोमा छ । २०३८ सालमा बनेको २०० किलोवाटको बिजुली बिग्रिएर थन्केको अवस्थामा छ । त्यो बन्न अझै ३–४ महिना लाग्छ।

त्यस विषयमा मिडियामा पनि धेरै आइसक्यो । सामाजिक सञ्जालमा पनि यति धेरै चर्चा भइसक्यो । हामीले यति धेरै फोन गर्‍यौं, यति धेरै भेट्न खोज्यौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज भनेको को भने कुलमान घिसिङ । अनि अर्का श्री ३ महाराज हुनुहुन्छ, वर्षमान पुन उर्जामन्त्री’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै महतले प्रश्न गरे, फोन पनि उठ्दैन, भेटघाट गर्न पनि पाइँदैन । यी श्री ३ महाराजसँग हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो ?

विद्युत प्राधिकरण र उर्जा मन्त्रालयका अधिकारीहरु आफूहरुले प्रगति गरेको भनेर कुर्लिएको आरोप लगाउँदै सांसद महतले जुम्लाका १ लाख जनता भने अन्धकारमा बस्नु परिरहेको बताए ।

भारतलाई बत्ति बेच्दै छौं भन्दैछन् ।कृपया हामीलाई बेचिदिनुहोस्, जुम्लालाई बेचिदिनुहोस्, तपाईंहरुको बत्ति कति छ ?सांसद महतले भने, त्यहाँ पनि जनता छन्, त्यहाँ पनि मोबाइल छ, त्यहाँ पनि पढ्ने विद्यार्थी छन्, बिरामी छन् ।

प्रकाशित मिति August 6, 2019
Loading...