नेपालद्वारा पहिलो पटक फलफूल तथा तरकारीमा विषादी अवशेषको सीमा निर्धारण,सरकारी कदम सराहनीय !

वीवीसी -:  नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात्‌ म्याक्सिमम रेजिड्यू लिमिट (एमआरएल) निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।विज्ञहरूले ढिलो आए पनि सरकारी कदम सराहनीय भएको भन्दै अब थप फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिनुपर्ने बताएका छन्।

विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बीबीसी नेपालीलाई बताएअनुसार स्याउ, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ।

प्रशोधित खानामा एमआरएल निर्धारण गर्दै आएको भए पनि फलफूल तथा तरकारीमा चाहिँ सीमा तोकिएको पहिलो पटक हो,वैद्यले भनिन्। थप फलफूल तथा तरकारीमा एमआरएल निर्धारणका लागि गृहकार्य भइरहेको अधिकारीहरूले बताएका छन्।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार एमआरएल निर्धारणबारे विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) लाई जानकारी गराइसकिएको र त्यहाँबाट कुनै टिप्पणी नउठेपछि अब लागु गर्ने विषयमा राजपत्रमार्फत् सूचना जारी गरिनेछ।

राजपत्रमा प्रकाशित गर्नका लागि हामीले मन्त्रालयमा पठाइसकेका छौँ, महर्जनले थपे।महर्जनका अनुसार कुनै पनि सदस्य मुलुकले एमआरएल निर्धारणबारे डब्ल्यूटीओलाई जानकारी गराएपछि टिप्पणीका लागि उसले सदस्य राष्ट्रहरूलाई ६० दिने समय उपलब्ध गराउँछ।

फलफूल तथा तरकारीमा नेपालको पछिल्लो एमआरएल निर्धारणबारे डब्ल्यूटीओ आबद्ध कुनै पनि देशले टिप्पणी नउठाएपछि कार्यान्वयनको प्रक्रियामा गएको महर्जनले बताए।विभागकी महानिर्देशक वैद्यका अनुसार सेप्टेम्बर १ तारिखदेखि एमआरएल लागु हुनेछ।

जीवनाशक विषादीको प्रकार अनुसार स्याउ, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी आलु, गोलभेँडा र चियामा अवशेषको अधिकतम सीमा फरकफरक निर्धारण गरिएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

विभागले आलुमा मात्रै ७१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकेको छ। उदाहरणका लागि बेन्टाजोन जीवनाशक विषादी प्रतिकिलो आलुमा ०.१ मिलिमिटर निर्धारण गरिएको छ अर्थात्‌ त्यति मात्रा भए खान मिल्छ।

प्रकाशित मिति August 1, 2019
Loading...