पाँचथर हत्या काण्ड : ‘डिभोर्स’ ले निम्त्यायो डरलाग्दो सामुहिक हत्या!पुराबिवरण सहित

नौं जनाको हत्या गरेर आफै आत्महत्या, २५ वर्षपछि दोहोरियो फेरि सामुहिक हत्या

पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा नौं जनाको सामुहिक हत्याको प्रारमिभक कारण सम्बन्ध विच्छेद (डिभोर्स) देखिएको छ । नौं जनाको विभत्स हत्यामा ज्वाई र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । नौं जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा पुगेर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका कान्छा ज्वाई रहेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका एक प्रहरी अधिकारी भन्छन्, ‘मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती दुई वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको थियो ।

उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोंकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।’ प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

परिवारका सबै सदस्यमाथि आक्रमण भएपछि भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले मुकुण्डो लगाएको व्यक्तिले खुकरी प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएकी छन् । घटनास्थलमा अहिलेसम्म कुनै पनि हतियार फेला नपरेको अनुसनधानमा रहेका सुरक्षाकर्मीले जनाएका छन् ।

हत्या गरिएका परिवार र रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सामान्य परिवारका व्यक्ति थिए । घटना मध्यरातमा भएको पाइएको छ । पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर–१ प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिएका छन् ।

२५ वर्षअघि पनि सामुहिक हत्या

दुई परिवारका नौ जनाको हत्या भएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे शोकमा डुबेको छ । घटनाका दोषी आशंका गरिएका खजुम समेत रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

पाँचथरमा आज भन्दा २५ बर्षअघि घटेको यस्तै सामुहिक हत्याले त्रसित बनाएको थियो ।
नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी भन्छन्, ‘२०५० साल १७ वैशाखमा दुलाल परिवारका पाँच सदस्यको यसरी नै सामुहिक हत्या गरिएको थियो ।’ साविकको लुम्रुपा गाविस ९ टिम्बुरेमा एक दुलाल परिवारको यसरी नै सामुहिक हत्या भएको थियो ।

रातको समयमा घरमुली कुवेर दुलाल, आमा सरस्वती रिजाल, वहिनी कृष्ण दुलालसँगै भाइहरु उमेश र उद्वव दुलाल गरी ५ जनाको घारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । कुवेर दुलालको छिमेकी नांगिन गाविस–३ सेजेपामा र अन्य सदस्यको घरैमा एक साथ खुकुरी प्रहार गरी हत्या भएको थियो । दुलालका दुई छोरी ज्ञानु र मनु दुलाल भने मावली गएकाले जोगिएका थिए ।

मनु नांगिनको पिपलवोटे उच्च माविमा पढ्थिन भने ज्ञानु इटहरीस्थित आफन्तको घर गएकी थिइन् । पछिल्लो समय पाँचथरमा व्यक्तिगत वा सामूहिक हत्याको कारण ब्यक्तिगत रिसईबी साँध्न भएको पाइएको समेत नेकपा अध्यक्ष भण्डारीले सुनाए ।

त्यसबेला लामो समयसम्म हत्यामा संलग्न अपराधी पत्ता नलागेपछि दुलाल परिवारका आफन्तले अनुसन्धान टोलीको साथमा कुकुर झिकाएका थिए । अनुसन्धानमा खटाइएको कुकुरले कुवेरका दाजु नाता पर्ने छिमेकी ओमनाथ दुलालसहित ८ जनालाई समातेको थियो ।

कुकुरको सहयोगमा पक्राउ परेकामध्ये ७ जनाले ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउन लगाएको बयान दिएका थिए भने ओमनाथले पुरानो इगोका कारण हत्या गरेको स्वीकारेका थिए । हत्या गराएको स्वीकार गरेका उनीहरुलाई अदालतले जनही २० वर्ष कैद सजाय सुनाएको थियो । उनीहरु ३ वर्षअघि कैद भुक्तान गरी जेलबाट छुटेका छन् ।

 

प्रकाशित मिति May 21, 2019
Loading...