कर्णालीमा स्थानीयदेखि प्रदेश सरकारसम्म छोरीको सुरक्षा सरकारले गर्ने !

कुनै बेला छाउपडी प्रथा, बहुपति प्रथा, बहुपत्नी प्रथा, जातीय भेदभावलगायतका कुप्रथाको प्रतिनिधित्व कर्णालीले गर्थ्यो । कर्णालीका बुहारीलाई बच्चा जन्माउने मेसिन या साधनका रुपमा लिने गरिन्थ्यो ।अझै पनि ती प्रचलनको अवशेष कर्णालीमा भेटिन्छ ।

छोरीले पढ्ने अवसर केही पाए पनि बुहारीले पढेर सक्षम हुने भन्ने कुरा असम्भव जत्तिकै थियो । तर अहिले कर्णाली प्रदेश छोरीचेलीको अवस्था सुधार्न कम्मर कसेर लागेको छ । स्थानीय तहदेखि प्रदेश सरकारसम्मले छोरीको सुरक्षाका लागि नीति तथा कार्यक्रम ल्याएका छन् ।

खाँडाचक्र नगरपालिका कालीकोटकी उपप्रमुख विजया विष्ट कर्णाली प्रदेशमा छोरा र छोरीबीच हुने असमानता हटाउन छोरी सुरक्षा कार्यक्रम ल्याइएको बताउँछिन् । कर्णालीमा छोराको आशमा छोरी धेरै जन्माउने प्रथा कायमै छ ।

छोरीको भु्रण हत्या रोक्न र छोरा र छोरीबीच समानता ल्याउन छोरी सुरक्षा कार्यक्रम ल्याएका हौं उनले भनिन, अब खाँडाचक्र नगरपालिकामा जसले दुई छोरी वा एक छोरीमा मात्रै स्थायी बन्ध्याकरण गर्छ, उसलाई १ लाख रुपैयाँ पुरस्कार र छोरीको एसईईसम्मको शिक्षा नगरपालिकाले प्रदान गर्छ ।

छोराको पर्खाइमा ८-१० जनासम्म छोरी जन्माएको भेटिएपछि नगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको हो ।हामीले कर्णालीका छोरी बचाउन यो कार्यक्रम ल्याएका हौं उपप्रमुख विष्टले भनिन् दुई सन्तान ईश्वरका वरदान भन्ने सरकारको मूल नारालाई समेत स्थापित गर्न यो कार्यक्रम अघि सारेका हौं । दुईभन्दा धेरै छोरी जन्माउनेले यो सुविधान लिन नपाउने नगरपालिकाले जनाएको छ ।

त्यस्तै, जाजरकोटको जुनिचाँदे गाउँपालिकाले पनि छोरी जन्मनेबित्तिकै बैंक खाता खोलेर १० हजार रुपैयाँ बचत गरिदिने गरी नीति लिएको सूचना अधिकारी गणेशबहादुर बस्नेतले बताए ।छोरीलाई पढाउनु हुन्न भन्ने मान्यतालाई चिर्नका लागि छोरीहरुको पढाइ खर्च हुने गरी रकम जम्मा गर्ने नीति ल्याएका हौं, उनले भने बैंक खाता भएपछि अनिवार्य बचत गर्ने बानीको विकास हुने विश्वास छ ।

वीरेन्द्रनगर नगरपालिकाले गत वर्षदेखि नै छोरी बचत खाता सुरु गरेको छ । गत वर्षदेखि वीरेन्द्रनगरमा जन्मिने छोरीका लागि १ हजारबराबरको खाता सञ्चालन गर्ने गरी पालिकाले बजेट विनियोजन गर्दै आएको उपप्रमुख मोहनमाया ढकालले बताइन् ।

प्रदेशको छुट्टै कार्यक्रम
कर्णाली प्रदेश सरकारले पनि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ भन्ने मूल नाराका साथ कर्णालीमा जन्मने सबै छोरीको बैंक खाता खोलिदिने र मासिक ५ सय रुपैयाँ बचत गर्ने नीति लिएको छ । जन्मनेबित्तिकै सरकारले यो प्रक्रिया अगाडि बढाउने गरी नीति लिएको हो ।

कर्णालीका छोरीको सुरक्षामा कर्णाली प्रदेश सरकार गम्भीर भएको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘सदियौँदेखि कर्णालीका छोरी-बुहारी अवसरबाट वञ्चित थिए, उनले भने अब कर्णालीका छोरी बुहारीको सुरक्षा सरकारले गर्छ ।गत आर्थिक वर्षबाटै छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम लागू भइसकेको मन्त्री रावलले बताए ।सबैभन्दा ठूलो कुरा शिक्षा हो, उनले भने कर्णालीका छोरी-बुहारी शिक्षाबाट बञ्चित नहोउन् भन्नका लागि छोरी-बुहारी छात्रवृत्ति कार्याक्रम ल्याएका हौं ।कर्णालीमा छोराको आशमा छोरी गर्भमै हत्या गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले छोरी सुरक्षा कार्यक्रम ल्याएको मन्त्री रावलले बताए ।

प्रकाशित मिति July 21, 2019
Loading...