“पाँचथर ‘नरसंहार’,प्रहरी विज्ञ कुकुरसहित अनुसन्धानमा जुट्यो, सबै नाका ‘शील” !

काठमाडौं: पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या भएपछि त्यसको अनुसन्धान गर्न नेपाल प्रहरीले विज्ञ कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरेको छ ।

अहिले विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु मिक्लाजुङको आरुबोटेतर्फ लागेका छन् । संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको छ ।

प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि घटनास्थलतर्फ जान लागेको छ । सिआइबीबाट एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली १२ बजेको फ्लाइटमार्फत पाँचथर जान लागेका पोखरेलले जानकारी दिए । यस्तै, प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाँदैछन्।यतिखेर नेपाल प्रहरीले पाँचथर र आसपासका सम्पूर्ण नाकाहरु शील गरेको छ । अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जनाउँदै प्रहरीले उच्च तदारुकताका साथ अनुसन्धान थालेको हो ।

गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या भएको हो। १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। हत्यारा र कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति May 21, 2019
Loading...