असुरक्षित वैदेशिक रोजगार: ११ वर्षमा ७४६९ युवाले गुमाए *ज्यान !

वैदेशिक रोजगारीमा गएका युवाहरूकै रेमिट्यान्सले देशको अर्थतन्त्र ‘सुरक्षित’ छ । तर, ती युवा भने असुरक्षित छन् । वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अंगभंगको ग्राफ डरलाग्दो छ । पछिल्ला ११ वर्षमा सात हजार चार सय ६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । तैपनि सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गरेको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विदेशमा मृत्यु हुने नेपाली कामदारको संख्या हरेक वर्ष वृद्धि भएको छ । आव ०६५/६६ देखि ०७५/७६ को वैशाखसम्म सात हजार चार सय ६९ जनाले ज्यान गुमाएका छन् । १० वर्षमा मृतकको संख्या आठ सय प्रतिशतले बढेको छ । श्रम प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष ०६५/६६ देखि आर्थिक वर्ष ०७५/७६ सम्म सात हजार चार सय ६९ जनाले ज्यान गुमाएका छन् । यो श्रम स्वीकृति लिएर जानेहरूमध्येको तथ्यांक मात्रै हो । अनौपचारिक माध्यमबाट विभिन्न देशमा रोजगारीमा पुगेकाहरूमध्ये मृत्यु हुनेको संख्या पनि ठूलो छ’ ।

यसरी बढ्यो ग्राफ
पछिल्ला पाँच वर्षयता हरेक दिनजसो औसत दुईदेखि तीन नेपाली कामदारले विदेशमा ज्यान गुमाउने गरेका छन् । यो संख्या बढ्दो दरमा छ । ०६५/६६ मा ९० जनाको मृत्यु भएकोमा ०७०/७१ मा आठ सय ८८ पुगेको थियो । त्यस्तै, ०७४/७५ मा आठ सय २१ ले ज्यान गुमाएकोमा ०७५/७६ को वैशाखसम्ममा ६ सय २५ को मृत्यु भएको छ । यस अवधिमा सबैभन्दा धेरै ०७१/७२ मा एक हजार ६ जनाले ज्यान गुमाएका थिए । तर, वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरकारले कुनै पहल नगरेको आयोगले जनाएको छ । अनौपचारिक रूपमा जानेकोसमेत ज्यान जाने भएकाले संख्या अझै बढी छ । यसरी विदेशमा मृत्यु हुनेमध्ये कतिपयको कारण नै थाहा हुने गरेको छैन । आयोगले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन निर्देशन दिएको छ ।

कार्यान्वयन भएन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले गन्तव्य मुलुकमा मृत्यु हुनेहरूको कारण पत्ता लगाउन अनिवार्य रूपमा पोस्टमार्टम गराउनेलगायत पाँच उपाय अपनाउन ३० कात्तिक ०७४ मा निर्देशनात्मक आदेश दिएको थियो । तर, सरकारले पालना गरेको छैन । सो आदेश कार्यान्वयन गर्न आफूहरूले सरकारलाई निर्देशन दिएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले बताए ।

सरकारी तथ्यांकले वैदेशिक रोजगारका गन्तव्यमध्ये मलेसिया र साउदी अरेबिया सबैभन्दा असुरक्षित देखाएको छ । पछिल्ला ११ वर्षमा मलेसियामा दुई हजार ६ सय ७४ नेपाली कामदारले ज्यान गुमाएका छन्, जसमा ३६ महिला छन् । त्यस्तै, यही अवधिमा साउदी अरेबिया पुगेका दुई हजार ३९ र कतार पुगेका एक हजार चार सय ५९ को मृत्यु भएको छ ।
कतारमा मृत्यु हुनेमध्ये सबैभन्दा धेरैको ‘कार्डिक अरेस्ट’ (अचानक मुटुको ढुकढुकी बन्द) हुने गरेको छ’ ।

एक हजार चार सय ५९ मध्ये पाँच सय २२ जनाको कार्डिक अरेस्टका कारण मृत्यु भएको छ । त्यस्तै, दुई सय २१ जनाको प्राकृतिक तथा एक सय ६८ जनाको अन्य कारणले मृत्यु भएको छ । सुतेकै अवस्थामा मृत भेटिएपछि उनीहरूलाई प्राकृतिक मृत्यु र अन्य कारणमा राखिएको छ । एक सय ५१ जनाको कार्यस्थलमा दुर्घटना भएर मृत्यु भएको छ । कतिपयले मेसिनमा परेर त कतिपयले अग्लो भवनबाट झरेर ज्यान गुमाएका छन् । एक सय १६ जनाको सडक दुर्घटनामा तथा एक सय १३ जनाको हृदयाघातका कारण मृत्यु भएको छ । २२ जनाको हत्या भएको छ भने २२ जनाले अन्य बिरामी भएर ज्यान गुमाएका छन् ’।

कुवेतमा हृदयाघात धेरै
कुवेतमा नेपाली कामदारको मृत्युको प्रमुख कारण हृदयाघात देखिएको छ । दुई सय ४१ मध्ये ८७ जनाको हृदयाघातबाट ज्यान गएको छ । ३५ जनाको सडक दुर्घटना तथा २२ जनाको ‘प्राकृतिक मृत्यु’ भएको छ । २२ जनाले आत्महत्या गरेका छन् भने १० जनाको कार्यस्थलमा भएको दुर्घटनाका कारण मृत्यु भएको छ ।

दक्षिण कोरियामा धेरै आत्मह*त्या
वैदेशिक रोजगारीमध्ये सबैभन्दा राम्रो तलब दक्षिण कोरिया जानेहरूको छ । तर, त्यहाँ जाने नेपालीमा डिप्रेसन एक प्रमुख समस्या देखिने गरेको छ । श्रम प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार दक्षिण कोरियामा नेपालीको मृत्युको प्रमुख कारण आत्महत्या हो । मृत्यु भएका एक सय २१ मध्ये ३६ जनाले आत्महत्या गरेका छन् । ११ जनाको कार्यस्थलमा र १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । २३ जनाको अन्य कारणले’ मृत्यु भएको जनाइएको छ ।

मलेसियामा धेरैको मृत्युको कारण नै खुल्दैन
मलेसियामा मृत्यु भएका २६ सय ७४ मध्ये धेरैको मृत्युको कारण नै खुल्ने गरेको छैन । ६ सय २४ जनाको मृत्युको कारण नखुलेपछि अन्य भनेर तथ्यांकमा राखिएको छ । त्यस्तै, चार सय ११ लाई प्राकृतिक मृत्यु भनिएको छ । सुतेकै अवस्था मृत्यु हुनुलाई प्राकृतिक मृत्यु भन्दै छानबिन नै हुने गरेको छैन । तीन सय ८२ जनाले आत्महत्या गरेका छन् भने एक सय ६२ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । २ सय ५२ को कार्यस्थलमा मृत्यु भएको छ । ८२ जनाले बिरामी भएर ज्यान गुमाएका छन् भने २० जनाको हत्या भएको छ । ७० जनाको मृत्युबारे अझै अनुसन्धान भइरहेको बोर्डले जनाएको छ ।’

युएईमा धेरैलाई कार्डिक अरेस्ट
संयुक्त अरब इमिरेट्स(युएई)मा नेपालीको मृत्युको प्रमुख कारण कार्डिक अरेस्ट देखिएको छ । युएईमा एक सय ७१ नेपालीले कार्डिक अरेस्टका कारण ज्यान गुमाएका छन् । त्यस्तै एक सय दुईजनाको प्राकृतिक मृत्यु, एक सय एकको आत्महत्या, ३४ को कार्यस्थलमा दुर्घटना मृत्युको कारण बनेको छ ।

साउदीमा ५९२ को सडक दुर्घटनामा मृत्यु’
साउदी अरेबियामा पछिल्लो ११ वर्षमा पाँच सय ९२ नेपाली कामदारको सडक दुर्घटनामा मृत्यु भएको छ । सात सय ६२ जना सुतेकै अवस्थामा मृत भेटिएको तथ्यांक छ । एक सय ५२ जनालाई कार्डिक अरेस्ट भएको थियो भने एक सय ६७ जनाले आत्महत्या गरेका थिए । त्यस्तै, एक सय ६६ जनाको कार्यस्थलमा मृत्यु भएको थियो । हृदयाघातका कारण ९५ को ज्यान गएको बोर्डले जनाएको छ ।

ओमनमा पनि प्राकृतिक मृत्यु धेरै
ओमनमा १९ नेपालीले सुतेकै अवस्थामा ज्यान गुमाएका छन् । ११ जनाले आत्महत्या गरेका छन् भने सातजनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

कतारमा कार्यस्थल नै असुरक्षित
वैदेशिक रोजगारीका गन्तव्यमध्ये कार्यस्थलमै असुरक्षामा कतार सबैभन्दा अगाडि छ । वैदेशिक रोजगार बोर्डका अनुसार ११ वर्षमा ज्यान गुमाउने एक हजार चार सय ५९ मध्ये एक सय ५२ को कार्यस्थलमै मृत्यु भएको छ । जुन १० दशमलव ४१ प्रतिशत हो । त्यस्तै, मलेसियामा ९ दशमलव ४२, साउदी अरेबियामा ८ दशमलव १४, युएईमा ५ दशमलव ६२, कुवेतमा ४ दशमलव ५६ प्रतिशतको कार्यस्थलमा दुर्घटनाले ज्यान गएको छ । मलेसियामा दुई सय ५२, साउदी अरेबियामा एक सय ६६, युएईमा ३४, कुवेतमा ११, दक्षिण कोरियामा ११ र’ बहराइनमा नौजनाले कार्यस्थलमा ज्यान गुमाएका छन् ।

ब्रुनाई, चेक रिपलिब्क, इजिप्ट, फिनल्याण्ड, गाबन, मकाउ, मोरिसस, नाइजेरिया, पप्पुवा न्यू गिनी, पोल्याण्ड, रसिया, सेरा लियन, श्रीलंका, नान्जानिया, यूगान्डा, भियतनाम, क्यानडा, जर्मनी, जोर्डन, टर्की, माल्दिभ्स, इजरायल, अमेरिका, सिसेल्स, लिबिया, मदागास्कर गावोनलगायत देशमा पनि नेपाली कामदारको मृत्यु भएको बोर्डको तथ्यांक छ’ ।

धेरैको मृत्युको कारण नै पत्ता लगाइँदैन
यस अवधिमा मृत्यु भएकामध्ये करिब एक हजार पाँच सयको मृत्युको कारण नै पत्ता लागेको छैन । वैदेशिक रोजगार बोर्डले उनीहरूको मृत्युलाई प्राकृतिक मृत्यु भनेर व्याख्या गर्छ । यसरी मृत्यु हुनेहरू ४० वर्षभन्दा कम उमेरका छन् । अध्ययन नै नगरी प्राकृतिक मृत्युभन्दा आफन्तहरू अनभिज्ञ रहने गरेका छन् । सुतेकै अवस्थामा मृत्यु भएकाले प्राकृतिक मृत्यु भन्ने गरिएको छ ।

उनीहरूको पोस्टमार्टमसमेत हुँदैन । सर्वोच्च अदालतले नेपाल शव ल्याएपछि पोस्टमार्टम गरेर कारण पत्ता लगाउन सरकारलाई आदेश दिएको थियो । तर, कार्यान्वयन भएको छैन । वैदेशिक रोजगारीमा गएकाहरूको मृत्युको कारण नै पत्ता नलाग्नु दुःखद् भएकाले अनुसन्धान गर्न निर्देशन दिएको मानव अधिकार आयोगका सदस्य सुदीप पाठक बताउँछन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ सर्वोच्चको आदेश पालनाको प्रक्रियामा रहेको बताउँछन् ।म बोर्डमा आएको करिब १० महिना भयो उनी भन्छन्,अब केही महिनभित्रै यी विषयमा धेरै काम हुन्छन् । वैदेशिक रोजगारीमा जानेको मृत्युदर घटाउन प्रयास भएको पनि बताए ।

वैदेशिक रोजगारीमा ठगी स् ‘व्यापक र व्यवस्थित’
वैदेशिक रोजगारीको क्षेत्रमा ठगी ‘व्यापक र व्यवस्थित’ रूपमा भएको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन निष्कर्ष छ । खासगरी ‘निःशुल्क भिसा, निःशुल्क टिकट’का नाममा व्यवस्थित तरिकाले ठगी हुँदै आए पनि सम्बन्धित निकायले ध्यान पु(याउन नसकेको आयोगको ठहर छ ।

आयोगको अध्ययनमा वैदेशिक रोजगारीमा जानेमध्ये ५५ दशमलव ६३ प्रतिशत कामदार ठगिने गरेका छन् । आयोगको ‘आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच विषयको अनुसन्धान प्रतिवेदन’अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये ५५ दशमलव ६३ ले सम्झौतामा उल्लेख गरिएअनुसार तलब, खाना खर्च, अतिरिक्त कामको पारिश्रमिक नपाएको, तलबै नपाएको, समयमा भुक्तानी नपाएको, तलब कटौती गरेको र तलब रोक्का राखेको बताएका छन् ।

त्यस्तै ३६ दशमलव ६२ प्रतिशतलाई श्रम स्वीकृतिमा भनिएकोभन्दा अर्को काममा लगाउने गरिएको छ । एजेन्टको भरमा परेर वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकामध्ये ९६ प्रतिशतलाई आफ्नो हुनेवाला रोजगार को हो भन्नेसमेत जानकारी हुने गरेको छैन । अझ ५२ प्रतिशतलाई त आफू कुन देश जाँदै छु भन्ने जानकारीसमेत नहुने गरेको अनुसन्धानमा खुलेको छ ।

६४ जनाको नेपाल फर्केपछि उपचारको क्रममा मृत्यु
वैदेशिक रोजगारीमा गम्भीर बिरामी भई फर्काइएकामध्ये ६४ जनाको स्वदेशमै मृत्यु भएको छ । त्यस्तै एक हजार पाँच सय १३ जना गम्भीर बिरामी र अंगभंग भएका छन् । उनीहरूलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अवस्था हेरेर राहत उपलब्ध गराउँदै आएको छ । गम्भीर बिरामी र अंगभंग भएकालाई बोर्डले २३ करोड ८० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । गत आर्थिक वर्षमा मात्र तीन सय ३५ जना गम्भीर बिरामी तथा अंगभंग भई फर्किएका थिए ।

तालिम दिएर वैदेशिक रोजगारीमा पठाए मृत्युदर घट्छ
सुदीप पाठक, सदस्य मानवअधिकार आयोग
वैदेशिक रोजगारीमा धेरै समस्या छन् । १५ सुझाब सरकारलाई दिएका छौँ । विदेश पठाउने प्रक्रियामै हुने कमजोरी पनि मृत्युको एउटा कारण हो । सीपअनुसार काम नहुने भएकाले कतिपय दुर्घटनामा परेका छन् । ट्राफिक नियम नजानेर नै धेरै दुर्घटनामा पर्छन् । व्यवस्थित रूपमा तालिम दिएर विदेश पठायौँ भने यो दर घट्न सक्छ ।

पोस्टमार्टम हुँदैन, मृत्युको कारण यकिन छैन
डा। रामेश कोइराला, मुटुरोग विशेषज्ञ
नेपाली कामदारको प्रमुख गन्तव्य साउदी अरेबिया, कतार, युएई, कुवेत, बहराइन, ओमन र मध्यपूर्व मलेसिया हुन् । उनीहरू ओभरटाइमसहित १२ घन्टा काम गर्छन् । आराम पुग्दैन । त्यहाँको हावापानी पनि नेपालमा भन्दा भिन्न छ । खानपान पनि राम्रो छैन’ ।

भियतनामीले बनाएको अवैधानिक रक्सी पिउँछन् । खानामा कुखुराको मासु बढी हुन्छ । हरियो सागसब्जी महँगो भनेर खाँदैनन् । यस्तो जीवनशैलीले स्वास्थ्यमा असर गर्छ । अस्वस्थकर बसाइ र मादकपदार्थ सेवनले हृदयाघात हुन्छ । दिनभर काम गरेर क्याम्पमा फर्केका ‘तन्दुरुस्त कामदार’ भोलिपल्ट बिहान ‘सुतेकोसुत्यै’ अवस्थामा भेटिन्छन् । तत्काल मुटुले काम गर्न छाडेको ‘सडन कार्डियाक अरेस्ट’का कारण पनि नेपाली कामदारको मृत्यु भएको देखिएको छ’ ।

तर, अहिलेसम्म पनि मृत्युको खास कारण खुल्न सकेको छैन । तत्काल शव पठाउने भएकाले यकिन रिपोर्ट आइसकेको हुँदैन । कम्पनीले हृदयाघातबाट मृत्यु भएको भनेर शव नेपाल पठाइदिन्छ । नेपाली दूतावासले मृतकको पोस्टमार्टम रिपोर्ट लिँदैन । त्यहाँको चिकित्सकले हृदयाघात भएको लेखेर पठाएपछि यहाँ त्यसैलाई आधिकारिक मान्ने गरिन्छ ।’

प्रकाशित मिति July 20, 2019
Loading...