कुठाराघात !यूएईमा कार्यरत् नेपाली कामदारका आफन्तलाई जारी नहुने भयो ‘नो अब्जेक्सन लेटर’!

संयुक्त अरव इमिरेट्समा कार्यरत नेपाली कामदारका आफन्तहरूलाई पर्यटक भिसाका लागि सहमतिपत्र (नो अब्जेक्सन लेटर) जारी नगरिने भएको छ ।

अवुधावीस्थित नेपाली राजदूताबासले जुलाई १४ शनिबार एक सूचना जारी गर्दै आइतबारदेखि नै नो अब्जेक्सन लेटर जारी नगर्ने जानकारी गराएको हो । सूचनामा आफन्त भन्नाले श्रीमान् वा श्रीमती, आमा, बाबु, सासु ससुरा र छोराछोरी जनाइएको छ । नेपाली राजदूताबासले जारी गरेको यो सूचनाले यहाँका नेपालीमा अन्यौलको स्थिति सिर्जना भएको छ । अब के हुन्छ ? यस सूचनाले कसलाई फाइदा वा बेफाइला गर्छ ? के का लागि र कसका लागि यो निर्णय गरिएको हो ? यस्तै प्रश्नहरू यहाँ उब्जिएका छन् ।

यस सूचनाको प्रभावका बारेमा जानकार केही नेपालीले यो निर्णय सर्वसाधारण कामदारका लागि हितकर नभएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । उनीहरूले यो निर्णय दुतावासले अध्यागमनमार्फत नमिलेका प्राविधिक कुराहरु र ठगी दलाली हुने ठाँउ खोजेर उचित उपचार गर्नुको साटो यो कदम चालिनु गलत भएको बताएका छन् ।

राजदूताबासको यस निर्णयका बारेमा प्रतिक्रिया लिन खोज्दा अबुधावीस्थित नेपालका राजदूत कृष्णप्रसाद ढकाल उपलव्ध भएनन् । एक अधिकृतले भने- यो अप्रिय निर्णय हो । यो निर्णयका ठूलो विरोध हुन सक्छ ।’ उनले अगाडि भने- यो निर्णयमा पुग्नुअगाडि अरू पनि कदम चाल्न सकिन्थ्यो ।

 

प्रकाशित मिति July 15, 2019
Loading...