गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने!

रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने बताए ।

हालसम्म ६ करोड ५० लाख मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन । भदौ महीनामा औपचारिक शिलान्यास गर्नका लागि आवश्यक कच्चापदार्थ जम्मा गर्ने काम भइरहेको छ । रङ्गशाला क्षेत्रलाई टिनले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको उनले बताए ।

मैदान बनाउनका लागि काठमाडौंका दुई स्थानबाट परीक्षण गरी माटो ल्याइएको छ भने तनहुँबाट पनि माटो ल्याउने तयारी भइरहेको उनले बताए । मैदानसँगै दुबो रोप्नका लागि ब्याडमा दुबो हुर्काउने काम शुरु गरिएको कट्टेलले बताए ।

अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेलमैदान निर्माण गरिने कट्टेलले बताए । गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको उनले बताए ।  वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको छ ।

प्रकाशित मिति May 12, 2019
Loading...