अमेरिकामा पुनः ७.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प!

क्यालिफोर्निया-: अमेरिकामा गत बिहिबार मात्रै राज्यका रिडगेक्रेस्ट शहरलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प थामिन नपाउँदै फेरी अमेरिकाको क्यालिफोर्निया राज्यमा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको लस एन्जल्स शहरबाट २४० किलोमिटर टाढा रहेको रिजक्रेस्ट शहरनजिक ९०० मिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प भएको हो । गत बिहीबार पनि सोही क्षेत्रमा ११ किलोमिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

बिहिबार गएको भूकम्प दुई दशकमा सबैभन्दा ठूलो धक्का थियो । जसले केन्द्रबिन्दु रहेका शहरमा सामान्य क्षेत्र र केहीलाई घाइते बनाएको थियो । पछिल्लो भूकम्पको धक्का क्यालिफोर्नियाका प्रमुख शहरहरुसहित नेभादा राज्य र मेक्सिकोको सीमासम्म महशुस गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । केन्द्रबिन्दु रहेको स्थानमा बिहीबार यता दर्जनौ पटक पराकम्प महसुस गरिएका थिए । स्थानीय समयअनुसार शुक्रबार बिहान मात्रै ५ दशलव ४ म्याग्निच्युटको पराकम्प गएको थियो ।

आज शनिबार गएको भूकम्प भने धेरै ठूलो हो। बिहीबारको भूकम्पपछि वैज्ञानिकहरुले ठूलो भूकम्प आउन सक्ने भन्दै सचेत गराएका थिए ।आजको भूकम्पले क्यालिफोर्नियाको एक स्थानमा आगलागी भएको, केही मानिसहरु घाइते भएको र केही परिवार विद्युत तथा सञ्चारको सुविधाबाट बञ्चित भएको सामान्य घटनाबारे जानकारी आएको त्यहाँका अधिकारीले जनाएका छन् । त्यसबाहेक भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति July 6, 2019
Loading...