लिबियाबाट ज्यान जोगाइ फर्के ८ भाइ!

लिबियामा विद्रोहीको कब्जामा परेका ८ नेपाली शुक्रबार स्वदेश फर्किएका छन्। लम्जुङका पुर्णप्रसाद अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री, चितवनका नेत्र भट्टराई र दाङका सुनिललगायत ८ जना नेपाल फर्किएका हुन्।

नेपालबाट उनीहरु कोही गत असोजमा कोही पुसमा भिजिट भिषामार्फत युएईको दुबई पुगेका थिए। उनीहरुलाई नेपालबाट दलालले लिबियाका लागि भनेर लगेका थिए। दुबईमा तीन महिना भन्दा बढी समयबसेपछि बल्ल लिबिया पुगेका उनीहरुलाई त्याहाबाट पनि अर्को दलालले इटाली लैजाने आश्वासन दिए। त्यसपछि इटाली जान तयार भएका उनीहरुले समुद्रमा पाएको दुख बिर्सन लायकको थियो।

लिबियामा रहँदा बम र गोलीको वर्षाका कारण त्रासमा बिताएका उनीहरुले इटाली जाने क्रममा समुद्रमा पनि पाउनुसम्मको दुख पाए। इटाली हिडेका उनीहरुको डुंगा समुद्रबीचमै विग्रियो। त्यसपछि उद्धारका लागि आएको सिंगापुरको पानीजहाजको पनि लिबियाकै विद्रोहीको कब्जामा रहेको क्षेत्रमा पुगेपछि तेल सकियो। उक्त पानी जहाजले तीनदिनसम्म तेल माग्दै पर्खिदा पनि तेल नआएपछि उनीहरुलाई विद्राहीकै क्याम्पमा छाडेर गयो।

विद्रोहीको क्याम्पमा उनीहरुले ३६ दिन विताए। आइओएमको आग्रहमा विद्रोही समूहले उनीहरुलाई मुक्त गरेपनि शुक्रबार उनीहरु नेपाल आइपुगेका हुन्। तर उनीहरुसँगै गएका लमजुङका सन्तोष श्रेष्ठको भने लिबियाकै विद्रोही क्याम्पमा भएको विष्फोटमा परि ज्यान गयो।

डुंगामा ८ नेपालीसहित ३६ जना सवार थिए। पानीजहाजमार्फत इटाली जाने भनेर हिडेका उनीहरुले ३ हजार डलरका दरले बुझाएका थिए। तर जादाजादै उनीहरु बिद्राहीको कब्जामा परे। ‘बिद्रोहीको कब्जामा परेपछि उम्कने अवस्थै भएन अधिकारीले भने डुंगा बीचैमा बिग्रियो, चालकले पनि बाटो थाहा नपाएपछि अलपत्र पर्‍यौं।

नेपाली दलालले पानीजहाजमा पठाउने भनेपनि बंगलादेशी दलालले गाडीमा खचाखच हालेर सानो डुंगामा पठाएका थिए। उनीहरुसँगै लिबिया पुगेका लमजुङको बेसीसहर नगरपालिका ११ का सन्तोष श्रेष्ठ भने विद्रोहीले गराएको विस्फोटमा परी मारिएका छन्। उनी लिबियामा अर्कै क्याम्पमा बस्दै आएका थिए। उक्त क्याम्पमा विद्रोहीले विस्फोट गराएपछि मंगलबार राति उनको ज्यान गयो।

 

‘यो लटमा अटिँदैन भन्दै सन्तोषलाई अर्को लटमा पठाउने भने, मैले त तिमी जाउ, म बस्छु भनेको पनि थिएँ पुर्णले भने तर सन्तोषले तपाईको नाम आयो जानुस् दाइ म अर्को लटमा आउँछु भनेको थियो । हिजो सुन्यौं ऊ बितेछ।

८ जनामध्ये तीन जना लमजुङ र एक जना चितवनका गरी चार जना सन्तोषसँगै लिबिया पुगेका हुन्। लिबियाबाट छुटेपछि सन्तोष र उनीहरुको सम्पर्क हुन सकेन। उनीहरुले बिहीबार मात्रै सन्तोषको मृत्युको खबर थाहा पाए। इटालीतर्फ जानु पहिले उनीहरु सन्तोषलाई भेट्न गएका थिए। सन्तोष अर्को लटमा आउने गरी छुटेका उनीहरुको अब कहिल्यै भेट नहुनेभयो।

समुद्रमा अलपत्र पर्दा र विद्रोहीको कब्जामा पुगेपछि उनीहरुले पनि बाँचेर फर्किने आश मारिसकेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजकुमार गुरुङले भने हामी आज यहाँ आइपुग्छौं भनेर सोचेकै थिएनौं।गलत म्यासेजले गर्दा उनीहरुको यो हालत भयो। उनीहरुलाई इटाली पुगें भनेर एक नेपालीले नै भ्वाइस म्यासेज पठाएका थिए। त्यो गलत रहेछ भनेर उनीहरुले पनि थाहा पाएनन्।

एक नेपालीले आफू लिबियाबाट इटाली पुगेको र इटालीमा राम्रो रहेको भन्दै भ्वाइस म्यासेज पठाएका थिए। त्यसपछि उनीहरु पनि लिबिया छाड्ने निर्णयमा पुगेका थिए। राजकुमारले लिबिया छाड्नुको कारण थपे, ‘क्याम्प आसपासमा दिनहुँ बम पड्किन्थ्यो। बमको छर्राले कोठाको झ्याल नै फुटेपछि भने जसरी पनि लिबिया छाड्नु पर्छ भन्ने लाग्यो।’

लिबियाबाट फर्किएका मध्ये केही दशैँ पहिले नै र केही पुसमा भिजिट भिसामा दुवई गएका थिए। दुवई पुगेको एक महिनापछि उनीहरुलाई दलालले लिबिया पुर्‍याए। दुवईमा ओभरस्टे भएपछि केहीले डेढलाखसम्म त्यहाँका दलाललाई पनि तिरेका थिए।दाङका सुनिलले भने लिबियाकै लागि भनेर हिडेको हो। लिबियामा हामीलाई दलालले कमाई, बस्न र खान पनि राम्रो भनेको थियो। हामीलाई लिबिया यस्तो देश हो भन्ने थाहा थिएन।

सुनिलले विद्रोही क्याम्पको दुखान्त सुनाए, ‘बिद्रोहीको कब्जामा छँदा गोली हानेर मारेको, मान्छे कुटेको जे देखें लाइफ’मा यस्तो कहिल्यै पनि देखेको थिइनँ। त्यतिबेला भगवानको नाम जप्दै बस्थे।

उनीहरु समुद्रमा अलपत्र पर्दा एकअर्कालाई सम्झाउँदै बस्थे। डुंगामा सवार सबैको रुवाबासी चल्थ्यो। ‘पछि एउटा हेलिकोप्टर आयो। त्यो हेलिकोप्टर फर्केको तीन घण्टापछि सिंगापुरे पानीजहाज आएर हामीलाई उद्धार गर्‍यो। तीनदिन भइसकेको थियो भोकै बसेको पानीजहाजमा चढेपछि भने खाना खान पायौं’, सुनिलले अलपत्र पर्दाको क्षण सम्झिए।

इटालीका लागि हिडेका उनीहरुलाई पानीजहाजले लिबिया नै फर्काएको पनि पछि मात्रै थाहा भएको थियो। लिबियाको प्रहरीले लिएर जान खोज्दा लिबिया फर्किंदैनौं भनेर अडान लिए। विद्रोहीले कब्जामा लिएपछि नेपालीलाई पैसा दिए छाड्छौं भनेका थिए। तर तीनैले लुटेर नांगेझार बनाएका थिए। बिद्रोही क्याम्पमा बिहान पाउरोटी र बेलुका पास्ता खाँदै बसे।

केहीले सामाखुसीमा एजेन्ट सतिस भण्डारीसँग भेट भएपछि लिबिया जाने प्रक्रिया सुरु भएको बताए। केहीले भने लमजुङकै दलाल संलग्न रहेको बताएका छन्। सुरुमा नेपालबाट जनही ६ लाखसम्म तिरेर गएपनि दुवई पुगेपछि फेरि रकम थपे।

लिबियामा अप्ठेरो परेर फर्किन्छु भन्दा समेत दलालले ४ हजार डलरका दरले मागेपछि उनीहरुले थप जोखिम भोग्नु पर्‍यो।पुर्णले भने यस्तो होला भनेर थाहा पाएको भए प्रतिबन्धित देश जाने नै थिएनौं। दलालको झुटो कुराले फस्यौं। जे होस् अब नेपाल आएका छौं । हामीलाई फसाउनेसँग हिसाब गर्छौं।

प्रकाशित मिति July 5, 2019
Loading...