ममाथि बम प्रहार गर्ने साथीलाई गृहमन्त्री बनाएर मैले गल्ती गरेँ सबै सग माफी माग्न चाहान्छु- प्रचण्ड

काठमाडौँ-: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा समर्पित नेता कार्यकर्तालाई भन्दा पनि अवसरवादीहरुलाई अघि सारेर गल्ती गरेको बताएका छन्।

३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा रुकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफूबाट अब त्यस्तो गल्ती नदोहोरिने पनि बताए।उनले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको नाम नलिएरै हिजो पार्टी विभाजन गरेर फेरि पार्टीमा फर्किएकालाई पार्टीमा उच्च तहको जिम्मेवारी दिनु गल्ती भएको बताए।

उनले भने, पार्टी विभाजन गरेर गएका र पछि आएर गल्ती भयो कमरेड भन्नेलाई मैले उदारतापूर्वक पार्टीको माथिल्लो तहमा जिम्मा दिएँ। २०७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ। सायद मैले गल्ती गरेँ।’

आफूले पार्टीको संगठनमा कुनै प्रभाव नभएकालाई पनि स्थायी कमिटीमा राखेको भन्दै उनले भने, संगठनमा केही प्रभाव नभएको व्यक्तिलाई स्थायी कमिटीमा लगेर राखेँ। सायद मैले गल्ती गरेँ। इमान्दारलाई स्थान दिनुपर्थ्यो। मैले अलिकति गल्ती गरेकै हो। म अब त्यस्तो गर्दिनँ। हिजो आन्दोलनमा इमानदारीताका साथ लागेका नेता कार्यकर्तालाई अघि बढाउँछु।

जनयुद्ध’ र जनआन्दोलनका उपलब्धीहरुमाथि प्रहार गर्ने षड्यन्त्र अहिले पनि भइरहेको प्रचण्डले बताए। उनले भने,जनयुद्धका उपलब्धीमाथि प्रहार गर्ने षड्यन्त्र अहिले पनि जारी छ। षड्यन्त्र रोकिएको छैन।

आफूले काठमाडौँमा बसेर लडेको लडाईंले धेरै प्रतिफल नदिएको हुँदा फेरि जनताको पक्षमा आएको उनको भनाइ छ। केही व्यक्तिलाई प्रचण्ड कमजोर भइसक्यो भन्ने लागेपनि आफूलाई पार्टीका नेता कार्यकर्ता र जनताको साथ रहेको उनले दावी समेत गरे।

प्रकाशित मिति April 7, 2021
Loading...