भ्रष्टाचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद नै विघटन गरे, बहुमत हामीसँगै छ जेल हाल्छौ- माधव नेपाल

काठमाडाैँ, १२ माघ –:  नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरुसँग बहुमत केन्द्रीय सदस्य रहेकाले आफुहरु नै आधिकारिक नेकपा भएको दावी गर्नुभएको छ ।

सोमबार पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफुहरुसंग रहेको तर्क गर्नुभयो । नेता नेपालले सेटिङ गरेर नबस्न ओलीलाई चेतावनी दिँदै सूर्य चिह्न पनि आफ्नो पक्षको हुने बताउनुभयो । उहाँले भ्रष्टाचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद नै विघटन गरेको आरोप पनि लगााउनुभयो ।

त्यस्तै, नेकपा वरिष्ठ नेता झलनाथ खनालले आफुलाई काम गर्न नदिएर संसद विघटन गरेको भन्नु तर्कसंगत नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशिता तथा गणतन्त्रमाथिको प्रहार भएको धारणा राख्नुभयो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहलाई काठमाडौँमा शक्ति प्रदर्शन गर्न सबैभन्दा बढी चिन्ता खाली ठाउँ नभएकोमा हुन्छ। आमसभामा हजारौँलाई उपस्थित गराउने उद्देश्य अनुसार गाउँ-गाउँबाट कार्यकर्ता ल्याए पनि खुल्ला ठाउँ नै नभएपछि सडकमै आमसभा गर्नुपर्ने बाध्यता पनि छ।

शुक्रबारको विरोधसभा पनि सडकमै गर्दा बिहानैदेखि काठमाडौँको जनजीवनमा प्रभाव पर्‍यो। रत्नपार्क, भद्रकाली र प्रदर्शनीमार्गको बीचमा ‘टी’ आकारमा सहभागीलाई हेर्न मिल्नेगरि मञ्च बनाइयो। टाढासम्म जोडिएका माइक, नेता कार्यकर्ताको बाक्लो उपस्थिति र कडा सुरक्षा निगरानीले पनि आमसभा भव्य भएको प्रतीत हुन्थ्यो। तर, नेताहरुबीचको सहकार्यको कमी, टाढादेखि कार्यकर्ताको उपस्थिति र व्यापक सहभागिताका कारण व्यवस्थापन गर्न भने हम्मेहम्मे परेको थियो।

केही दिनअघि प्रज्ञा प्रतिष्ठानबाट प्रचण्डले मांसाहारी आन्दोलनको उद्घोष गरेका थिए। तर शान्तिपूर्ण रूपमै प्रचण्ड नेपालको शुक्रबारको विरोधसभा समापन भएको छ।मांसाहारी आन्दोलनको आह्वान गर्दै आफूले ओलीमाथि जाइलाग्न चाहेको अभिव्यक्ति दिएको भए पनि आलोचना हुन थालेपछि आफ्नो भनाइको प्रचण्डले बचाउ गरेका थिए।

पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव समूह एक अर्कालाई काउन्टर दिइरहेका छन्। शक्ति प्रदर्शनलाई दुवै समूहले आफ्नो सबैभन्दा ठूलो हतियार बनाएका छन्।

विभिन्न जिल्लाबाट काठमाडौँमा नेता कार्यकर्ता उतारेर आफ्नो पक्षमा ठूलै जमात भएको पुष्टि गर्नु नेकपाको दुवै समूहका लागि सामान्य बनिसकेको छ।

ओली समूहको युवा संघले धोती जुलुस नै निकालेको थियो। प्रचण्ड-माधव समूहले ओली समूहको शैलीलाई भने पछ्याएन। तर, कार्यकर्ता भने काठमाडौँमा ओली समूहकै जसरी ल्यायो।बिहीबार राति नै काठमाडौँ हिँडेका उनीहरू एकाबिहानै काठमाडौँ पुगेका थिए।

नेकपा संघर्ष समितका सदस्य तथा प्रदेश न २ को संयोजन गरिरहेका स्थायी कमिटी सदस्य गणेश साहाका अनुसार तराईबाट प्रचण्ड-नेपाल समूहले १२ हजार कार्यकर्ता काठमाडौँ ल्याएको थियो। रातभरिको यात्राका कारण लखतरान देखिन्थे। कति जना सडकमै सुस्ताएका थिए भने जुलुसमा झण्डा समातेर उभिएकाहरूको पनि अरू सहभागीमा जस्तो जाँगर थिएन। उनीहरुमध्ये केहीका खुट्टामा चप्पल समेत थिएनन्। हँसिया हथौडा बोकेर आएका उनीहरूले चप्पल हाल्न भने पाएनन्।

प्रकाशित मिति January 25, 2021
Loading...