आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतारेर अस्थ ब्यस्त बनाउने  प्रचण्ड–माधवको दाबी

९ माघ, काठमाडौं । संसद विघटन विरुद्द नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

प्रचण्ड–माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । त्यसका लागि पौने ११ बजे नै आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

प्रकाशित मिति January 22, 2021
Loading...