टेबलमाथि सलामी थाप्ने मेयर भन्छन्– बदनाम हुँदा नमज्जा लाग्यो !

काठमाडौं -:  अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् ।

तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ ।

एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन्, जसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको सलामीको तस्वीर ‘ट्रोल’ नै बनेको छ ।मेयर नेपालले टेबलमाथि चढेर सलामी दिएको तस्वीरलाई बाँसको टुप्पो, विमान, स्काभेटर इत्यादिमा बसेर सलामी लिएको फोटोसपबाट तस्वीर बनाएर ट्रोल बनाइएको छ ।

मेयर नेपालका अनुसार उनले टेबलमाथि उभिएर सलामी लिएकै हुन् ।नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले कार्यक्रम गरेको थियो । खेलाडीलाई सम्मान हो गर्नुपर्छ भनेपछि मैले त्यसरी सलामी दिएको हुँ’ उनले अनलाइनखबरसँग भने ।

तर, त्यसबारे सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणी पढेपछि नमज्जा लागेको उनले सुनाए ।बाँसको टुप्पोमा बसेर, विमानमा बसेर समाली लिएको तस्वीरहरु सामाजिक सञ्जालमा हेरिरहेको छु’ उनी भन्छन्,यसरी बद्नाम हुँदा नमज्जा लागेको छ ।

गलत गरेंछु भन्ने लागेको छैन ? अनलाइनखबरको प्रश्नमा मेयर नेपाल भन्छन्, यदि मबाट गल्ती भएको भएको रहेछ भने क्षमा माग्छु । तर, अरुले पनि यसरी सलामी लिएको देखेको छु । आयोजकले गर्नुपर्छ भनेका थिए ।मेयर नेपालले आफ्नो तस्वीरलाई ट्रोल बनाउनेहरुविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार मुद्दा हाल्ने समेत चेतावनी दिए ।

महालक्ष्मी महानगरपालिकाले पनि विज्ञप्ति जारी गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलकुदको नियम र प्रचलनअनुसार नै खेलकुद र खेलाडीलाई सम्मान गर्न सलामी दिने विधिवत खेलकुद कार्य भएको बताएको छ ।

राष्ट्रपति रनिङमा सलामी लिनुपर्ने कुनै नियम छ ?

धनकुटाको महालक्ष्मी नगरपालिकाले मात्र होइन, यसरी सलामी लिनेहरु सबैले ‘खेलकुदको नियम’ भन्ने गरेका छन् ।

तर, राष्ट्रिय खेलकुद परिषदको प्रतियोगिता विभाग प्रमुख एवं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रपियोगिताका सचिव मीनकुमार श्रेष्ठ त्यसलाई स्वीकार गर्दैनन् ।

‘उनका अनुसार राजतन्त्रकालमा ‘वीरेन्द्र सिल्ड’ का नाममा हुने प्रतियोगिता गणतन्त्रमा राष्ट्रपति रनिङ सिल्ड भएको हो । राष्ट्रपति रनिङ सिल्ड पनि ११ औं संस्करणसम्म भइसक्यो । तर, यसरी मेचमाथि चढेर सलामी लिएको थाहा नभएको श्रेष्ठ बताउँछन्’ ।

प्रतियोगिता उद्घाटनका क्रममा सहभागी टिमहरु राष्ट्रिय झण्डासँगै आफ्नो पहिचान झल्कने झण्डा लिएर मार्चपास गर्छन् । खेलाडीहरुले मार्च गरिरहँदा अतिथिहरुले बसिरहनु राम्रो नदेखिने भएकाले उभिन्थे । तर, त्यसमा भ्रष्टीकरण भयो र विस्तारै प्रमुख अतिथिले अग्लो ठाउँमा बसेर सलामी लिने संस्कार सुरु भयो ।

त्यसैको पछिल्लो कडी हो, मेयर साहेब मेचमा उभिनु । राखेप प्रतियोगिता विभाग प्रमुख श्रेष्ठ भन्छन्, खेलाडीहरुप्रति सम्मान गर्ने प्रचलनलाई बिगारेर अतिथिले मेचमाथि चढेर सलामी लिनु लाजमर्दो हो|

अरु भन्दा अग्लो हुने चाहना बढ्दै जाँदा मेचमा चढेको हुन सक्ने उनको विश्लेषण छ । रातो कपडा,अग्लो फल्याक चाहिने कुनै नियम नभएको प्रष्ट पार्दै उनी भन्छन्अरु अतिथिसँगै उभिएर खेलाडीहरुप्रति सम्मान व्यक्त गर्न सकिन्छ । तर, अरुभन्दा अग्लो देखिने व्यक्तिगत मोहले त्यस्तो भएको होला

प्रकाशित मिति June 24, 2019
Loading...