सरकारको क्षमता कमजोर हुँदा आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउन नसकेको प्रधानमन्त्रीको स्वकारोक्ति

काठमाडौं, ११ मंसिर -:  प्रधानमन्त्री केपी ओलीले कोरोनाको महामारीकाबीच सरकारको क्षमता कमजोर हुँदा आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्नुभएको छ ।

आजबाट सुरु भएको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अन्य मुलुकसरह आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्दै सरकारको क्षमता नै कमजोर भएकाले ठूलो राहतका प्याकेज ल्याउन नसकेको बताउनुभएको हो ।

उहाँले सरकारको क्षमतालाई हेरेर मात्र निजी क्षेत्रले अपेक्षा गर्नुपर्ने समेत बताउनुभयो । कोभिड–१९ कारण अर्थतन्त्रलाई पारेको असरलाई पराजित गरे फेरि माथि उठाउनु पर्ने भन्दै गत आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको भएपनि शून्यमा मात्रै रहनु पनि हाम्रा लागि सन्तोषका विषय भएको प्रधानमन्त्री ओलीको दाबी थियो ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण उत्पन्न संकटबाट बाहिरिनका लागि उपायको खोजी गर्नुपर्ने समेत बताउनुभयो । उहाँले अहिलेको समस्या साझा समस्या भएको भन्दै सरकार, निजी क्षेत्र र सरकारका विभिन्न तहको पहलबाट मात्र यसबाट पार पाउन सकिने उल्लेख गर्नुभयो ।

यसका साथै उहाँले सरकार धनको गरिब भएपनि मनको गरिब नरहेको बताउँदै सरकारसँग निजी क्षेत्रले डराउनु नपर्ने बताउनुभएको छ । त्यस्तै उहाँले पायोनियरका रुपमा निजी क्षेत्रले कामहरु सरकारले भन्दा राम्रो गरेको बताउनुभयो ।यसैक्रममा उहाँले निजी क्षेत्रलाई सबल बनाउन ऐन, नियम बनाउनेलगायतका सहयोगका कामहरु सरकारले गर्ने बताउनुभएको छ । सरकारसँग धेरै बचत नभएका कारण चाहेर पनि धेरै सहयोग गर्न नसकेको उहाँको भनाइ छ ।

प्रकाशित मिति November 26, 2020
Loading...