प्रधानमन्त्रीकै निम्तोमा भारतीय ‘रअ’ प्रमुख नेपाल आएको खुलासा !

काठमाडौं –  बुधबार बिहान सम्म भारतीय गुप्तचर सस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदैछन् भन्ने सुइँको नेपालका अधिकारीहरुलाई थाहा थिएन । पर्यटन मन्त्रालयलाई समेत यो विषय उनी नेपाल आउनु केही घण्टा अगाडी मात्रै जानकारी गराइएको थियो ।

त्यसपछि मात्रै पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई जानकारी गराएको थियो एक भारतीय भिभिआइपी आइएफसी ४६२० कलसाइनको जहाजमा दिउँसो १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान बनाएर आउँदै हुनुहुन्छ । त्यही अनुसारको तयारी गर्नु ।

को आउँदैछन् ? कसलाई भेट्दैछन र कसको निम्तोमा आउँदैछन् ? वुधबार गोयल काठमाडौं नझर्दासम्म कसैलाई थाहै थिएन । तर जब उनी दिउँसो १ बजे अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली लिएर काठमाडौं आए झन उनको भ्रमण रहस्यमय बनाईदियो ।नेपालको आन्तरिक राजनीतिमा सधै वक्रदृष्टि राख्ने र यहाँका नेताहरुलाई जहिल्यै भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का मान्छेहरुले चलाउने गरेको आरोप लागिरहेका बेला जाहाज नै चार्टर गरेर उक्त संस्थाकै प्रमुख अचानक किन नेपाल आए ? मान्छेहरुका मनमा अनेक प्रश्न उठे ।

न सरकार न सम्बन्धित देशका राजदुत या परराष्ट्र मन्त्रालयले नै यस बारे कुनै औपचारिक टिप्पणी गर्न खोज्यो । तर रअ प्रमुख काठमाडौं आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार छिरे । प्रधानमन्त्रीले उनी सहितको टोलीलाई बालुवाटारमा स्वागत गरे । अनि चियापान गराए । यो पछि थाहा भएको छ, यो पहिल्यै देखिको सेटिङमा भएको छ ।प्रधानमन्त्रीकै निम्तोमा गोयलको टोली काठमाडौं आएको छ । अहिले बिहान पौने १० बजे यो टोली त्यही आइएफसी ४६२० कलसाइनको जहाजमा स्वदेश फर्किदैछ ।

प्रधानमन्त्रीले नै बालुवाटारमा बोलाएर स्वागत गरिसकेपछि गोयल टोलीले अन्य राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन् । कतिपयसँग उनले गोप्य भेटघाट गरिसकेका छन भने कतिपयसँग जानु अगाडी भेट्दैछन् ।

प्रकाशित मिति October 22, 2020
Loading...